विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई अबको ३ वर्षभित्रमा खेलकुदको महत्वपूर्ण गन्तव्य बनाइने बतएका छन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा विराटनगरमा आइतबार आयोजित खेलाडी तथा खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक अस्थिरताका कारण खेल क्षेत्रको विकास सोचेजस्तो नभइरहेको बताए । चाँडै राजनीतिक अस्थिरताको अन्त्य गर्दै ३ वर्षभित्रमा प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित गरिने कार्कीले बताए ।
क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन नेपाल सफल भएपनि राज्यको लगानी र ध्यान नपुग्दा फुटबल, भलिबललगायतका अन्य खेलकुदका विधाहरुमा सफलता मिल्न नसकेको उनको भनाइ छ । ‘जुन ढंगले हाम्रो खेल क्षेत्र अन्तर्राष्ट्रियकरण हुनुपर्ने थियो । त्यो हुन सकेको छैन,’ उनले भने ।
खेल क्षेत्रमा लामो समयदेखि सरकारले काम गरिरहेको भए पनि उपलब्धि सोचेजस्तो हुन नसकेको कार्कीले बताए । खेलकुदको नीति र कानुनलगायत व्यवस्थापकीय प्रबन्धहरुमा पनि राज्य चुकेको उनको भनाइ छ । खेल क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच समन्वय हुन नसकिरहेको कार्कीले बताए । ‘सरकारबीच जुन हिसाबले समन्वय हुनुपर्ने थियो । त्यो हुन सकेको छैन,’ उनले भने ।
राज्यको पुनर्संरचनासँगै अहिले स्थानीय, प्रदेश र संघीय सरकारबाट खेलकुदको विकासका लागि केही पहल र प्रयत्नहरु भने भइरहेको कार्कीले बताए । तर, समन्वयात्मक पहल हुन नसक्दा खेल क्षेत्र पछाडि परिरहेको उनको भनाइ छ । ‘प्रदेशको संरचना बनेपछि सबै प्रदेशमा खेलकुद विकास बोर्ड, परिषद्हरु बनेका छन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘तर, प्रदेशमा देखिएको राजनीतिक अस्थिरता कारण
६/६ महिनामा हुने सरकार परिवर्तनले खेल क्षेत्र सरकारको प्राथमिकतामा पर्न सकेको छैन ।’कोशी प्रदेशको खेलकुद विकास बोर्ड पनि राजनीतिक अस्थिरताको सिकार बनिरहेको उनले बताए । खेलकुदको विकासका लागि बनाएका ऐन कानुनमा रहेका कमजोरीलाई सच्याउँदै अघि बढ्ने कार्कीको भनाइ छ । खेलकुदको क्षेत्रमा नीतिगत र व्यवस्थापकीय प्रबन्धहरु, संरचनागत विकास तथा आवश्यक बजेटको व्यवस्था गरेर खेलकुदलाई अगाडि बढाउन प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता उनले जनाए ।
कार्कीका अनुसार खेलकुदका लागि प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको प्रदेशस्तरीय रंगशाला बनाउने र विराटनगरस्थित वैजनाथपुरमा रहेको क्रिकेट रंगशालालाई प्रदेश मातहतमा ल्याएर निर्माण गर्ने तथा इनडोर र आउटडोर खेलका संरचनाहरु विराटनगरमा निर्माण गर्ने तयारी भइरहेको छ । साथै, झापामा आदिवासी जनजाति रंगशाला निर्माण गरेर अन्तर्राष्ट्रिय खेलकुदको थलोको रुपमा विकास गर्न नेपाल सरकारसँग आवश्यक पहल भइरहेको मुख्यमन्त्री कार्कीले बताए ।
प्रतिक्रिया