विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका करिब २ सय खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी सम्मानित भएका हुन् । उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । साथै, खेल प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका अगुवाहरुलाई पनि नगदसहित सम्मान गरिएको छ ।
खेलाडीहरूलाई १५ हजारदेखि ५० हजार रुपैयाँसम्म नगद र सम्मान पत्रले सम्मान गरिएको हो । स्वर्ण पदक विजेतालाई ५० हजार रूपैयाँका दरले नगद प्रदान गरिएको थियो । पुरस्कारमा मात्रै लगभग ४० लाख रूपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)लगायतले खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रका अगुवालाई नगदसहित सम्मान पत्र प्रदान गरेका छन् ।
खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने सन्तोष बानिया र मदन उप्रेतीलाई पनि नगदसहित सम्मान गरिएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको लोगो र वेभसाइड निःशुल्क निर्माण गर्ने विजयकुमार बस्नेतसमेत सम्मानित भएका छन् । साथै, अन्नपूर्णकर्मी किशोर बुढाथोकीसहित ८ जना पत्रकारलाई पनि सम्मान गरिएको थियो ।
बोर्डका सदस्यसचिव बस्नेतले खेलेर पनि गौरवका साथ बाँच्न सकिन्छ भन्ने कुरा स्थापित गर्न कोशी प्रदेश खेलकुद विकास बोर्ड लागि परेको बताए । उनले केही वर्षभित्रै खेलाडीलाई गौरवकासाथ सम्मानित रुपमा बाँच्नसक्ने अवस्था सृजना गरिने बताए ।
प्रतिक्रिया