काँग्रेस सुनसरीको निर्णय :समावेशिताका आधारमा सरकार गठनको ध्यानाकर्षण गराइने

विहीबार, ०३ साउन २०८१
इटहरी : नेपाली काँग्रेस सुनसरीको बैठकले विभिन्न निर्णयहरू गरेको छ । बुधवार पार्टी कार्यालय इनरुवामा जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा बसेको बैठकले चार वटा निर्णयहरू गरेको हो । वर्तमान गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकारमा समावेशिताका आधारमा मन्त्री छनौट गरिनुपर्ने पार्टी केन्द्रीय कार्यसमितिलाई ध्यानाकर्षण बुझाइने सचिव वीरेन्द्रकुमार साहले बताए । काँग्रेस सुनसरीका प्रवक्तासमेत रहेका साहका अनुसार पछिल्लो समय गठन भएको सरकारमा समावेशितालाई ध्यान दिन पार्टीलाई ध्यानाकर्षण गराइनेछ । जाती, लिङ्ग, भूगोलका आधारमा समावेशिता कायम हुनुपर्ने बताइएको छ । साथै, काँग्रेसका संस्थापक तथा महामानव विश्वेश्वरप्रसाद कोइराला ९बिपी०को एक सय ११ औँ जन्म जयन्तीको अवसर पारेर आगामी साउन ६ गते पार्टी कार्यालयमा बिपीको जन्म जयन्ती मनाउने निर्णय भएको उनले जनाए । यसैगरी भदौ २४ गते पार्टी कार्यालयमा जिल्ला सम्मेलन गरिने र त्यसअघि तहगत सम्मेलनहरू गर्नुपर्ने निर्णय भएको छ । निर्णयअनुसार साउन ७ गतेदेखि २१ गतेसम्म जिल्लाभर रहेका १२४ वटै वडाको सम्मेलन सम्पन्न गर्नुपर्नेछ । त्यसैगरी साउन २२ गतेदेखि ३१ गतेसम्म १२ वटै पालिका सम्मेलन, भदौ १ देखि ८ गतेसम्म प्रदेशसभा सम्मेलन र भदौ ९ देखि १५ सम्ममा क्षेत्रीय सम्मेलन सम्पन्न गरिसक्नुपर्ने निर्णय भएको साहले जानकारी दिए । ‘हामीले वडा सम्मेलन सफल पार्नका निम्ति सबै वडामा प्रतिनिधि पठाउने पनि निर्णय गरेका छौँ,’ उनले भने, ‘बुधवारको बैठकमा तहगत समिति सम्मेलन र बिपी स्मृति दिवससहित सामयिक विषयमा वक्ताहरूले आफ्ना धारणा राखेपछि विविध निर्णय गरिएको हो ।’  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार