मुकुल भन्छन्- उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी परेको थियो

मंगलबार, ०८ साउन २०८१
काठमाडौँ  ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने पैसा लिएको उजुरी पार्टीमा परेको बताएका छन्  । मुकुलले उपसभामुखको पत्र प्रकरणका बारेमा आफ्नो भनाइ सार्वजनिक गर्दै एक महिलाले उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको र भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को देश पठाइदिने भन्दै अलमलाएका कारण पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएको बताएका छन्  । मुकुल ढकालको भनाई:     वैशाख ४, २०८१ मा पार्टीका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई वाट्सएप गर्नुहुन्छ । साथै, उहाँले पार्टीका एक जना पालिका सभापतिसँग आफूले गरेको टेलिफोन संवादको रेकर्ड पनि पठाउनु हुन्छ । टेलिफोन संवाद अनुसार पालिका सभापतिकहाँ पत्रमा उल्लेख गरिएकी एक जना महिला , आफूलाई पीडित भन्दै उहाँसँग सम्पर्कमा आउनु हुन्छ । पीडितका अनुसार १ वर्ष अगाडी उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो , र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी थिइन् । घटनाको खबर प्राप्त गर्ने बित्तिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले र पार्टी सह कोषाध्यक्ष एवं गृह मन्त्रालयमा गृहमन्त्रीको सचिवालय संयोजकका रूपमा काम गरिरहेका दीपक बोहरासम्म कुरा पुर्‍याए र गृह मन्त्रालयबाट उल्लेखित ५ जना विदेश उडेको नउडेको अध्यागमनबाट हेर्न आग्रह गरे । भोलिपल्ट राम नवमी परेकाले पर्सी पल्ट कोही पनि विदेश नउडेको खबर प्राप्त गरेँ । घटनाका बारेमा सिधै उपसभामुखबाट बुझ्नपर्छ भन्ठानी, मैले उपसभामुखसँग सम्पर्क गरेँ र उहाँले सुरुमा पत्रका बारेमा जानकार नरहेको बताउनु भयो तर अलिकति केरकार गरेपछि उहाँले उपेन्द्र भन्ने भाइ पार्टीकै मान्छे भएको , उसलाई मात्र चिनेको, अरूलाई नचिनेको बताउनुभयो र उपेन्द्रले भने अनुसार पत्रमा हस्ताक्षर गरेको बताउनु भयो । "नचिनेको मान्छे भन्न पाइन्छ ?" , "त्यसरी हस्ताक्षर गर्न मिल्छ ?" भनेर उपसभामुखलाई मैले प्रश्न गरेँ र उहाँले "थाहा भएन" भन्ने सामान्य उत्तर दिनु भयो । "थाहा छैन भन्न पाइन्छ ?" भनेर मैले प्रश्न गरिरहे, तर उहाँले "थाहा छैन" को रटान लगाइरहनु भयो । त्यसपछि, अब आइन्दा त्यसरी कसैको हस्ताक्षर नगर्नु र ती ५ जना पार्टी कार्यालयमा यथाशक्य छिटो उपस्थित गराउनु भनेर पार्टी महामन्त्रीको रूपमा निर्देशन दिए । त्यति बेला उहाँले महेश पाण्डे भन्ने व्यक्तिलाई ती को हुन् भन्ने थाहा छ र उहाँलाई सम्पर्क गर्न बताउनु भयो तर मैले अन्य व्यक्तिसँग सम्पर्क नगर्ने र तपाईँले नै ती व्यक्ति पार्टी कार्यालयमा उपस्थित गराउनु भने । उपसभामुखको मात्र होइन, "थाहा छैन" भन्ने रोग पार्टीमा सङ्क्रमण रोग जसरी फैलिएको छ जुन कुरा मैले समीक्षा प्रतिवेदनमा पनि उल्लेख गरेको छु । भविष्यमा, यस्ता "थाहा छैन" प्रकरण थप खुल्दै जाने नै छन् किन भने , सत्यलाई केही दिन लुकाउन सकिएला , सधैँ लुकाउन सकिन्न । "थाहा छैन" भन्ने जवाफले पार्टी महामन्त्रीको रूपमा मलाई पारेको दबाबकै कारण मैले समीक्षा यात्रा पनि "थाहा अभियान" का अभियन्ता रूप चन्द्र विष्ट 'रूदाने' को गाउँ "थाहा नगरपालिका" बाट सुरु गरे । उपसभामुखलाई त्यसरी ती ५ जना उपस्थित गराउने निर्देशन दिएपछि , इलामको उपचुनाव आयो । चुनावको नतिजापछि पार्टी सचिवालय बैठक बस्यो र बैठकले मलाई समीक्षा यात्रामा पठाउने निर्णय गर्‍यो । त्यसपछिका घटनाक्रम आम जनतामाझ आइसकेको छ । उपसभामुखको पत्र र मानव तस्करी जस्तो जघन्य अपराध जोडिएको यो विषयमा पार्टीका सीमित व्यक्तिको जानकारीमा मैले अनुसन्धान गरिरहेको थिएँ तर समय चक्रमा घटनाक्रम यसरी विकसित भएकी अनुसन्धानभन्दा के कति विषयमा म ओझेलमा परेँ, सम्भवतः सबैको जानकारीमा आएकै विषय हो । महिना दिन बित्दा पनि उपसभामुखले ती ५ जना दिइएको निर्देशन अनुसार पार्टी कार्यालयमा उपस्थित गराउनु भएन र उपस्थित नगराएका कारण थप कदम चाल्नु पर्ने हुन्थ्यो , जुन अवस्थामा म रहिन र जानकार मध्ये अन्य कसैले चासो दिएन । उपसभामुखलाई सोधखोजपछि पनि म पीडितको सम्पर्कमा आफैँ पुग्न चाहेँ तर सम्पर्कमा आएको पीडितले ती पालिका सभापतिलाई "तपाईँले कुरा कता कता पुर्‍याउनु भयो, मेरो पैसा फिर्ता आयो" बताइन् । ९ लाख रुपैयाँ उपसभामुख सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरिन् । पीडितका अनुसार ९ लाख फिर्ता भएको बैङ्क स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ । हालसालै घटना सार्वजनिक भएपछि , रवि लामिछाने क्लबले मिथ्या र भ्रम छर्न पार्टीको लेटर हेड दुरूपोयग गर्‍यो । लेटर हेडमा आर्थिक लेनदेन नभएको भनेर किटान गरी विज्ञप्ति जारी गर्नु अघि , तत्कालीन अवस्थामा अनुसन्धानको नेतृत्व गरिरहेका कारणले पनि मलाई के भएको हो भनेर सोधखोज गरिनुपर्थ्यो तर मलाई रवि लामिछाने क्लबले सामान्य सोधपुछ समेत गरेन । यसको मतलब क्लब विषयको गाम्भिर्यतालाई सिधै नजरअन्दाज गरी पार्टीमा बेथितिको संरक्षणमा खडा भयो । उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानबिन हुनपर्छ । मलाई प्राप्त सूचना र प्राप्त प्रमाणका आधारमा, म यति भन्न सक्छु , आर्थिक लेनदेन भएको कुरालाई इन्कार गर्न सकिन्न । अझै पनि , ती ५ जनालाई खोजी गरी तिनीहरू महिला अधिकारका क्षेत्रमा राजनीतिक, सामाजिक, कानुनी वा कुनै पनि आधारमा विगतमा महिला अधिकारका क्षेत्रमा काम गरेका व्यक्ति हुन् वा होइनन्, सजिलैसँग पत्ता लाग्ने विषय हो । यहाँ गाह्रो भनेको, ती ५ जना खोज्नु हो । राज्यले अनुसन्धान गर्ने हो भने, ती ५ जनाकै वतन पत्ता लगाउनु ठुलो विषय होइन । राज्यले यस विषयमा अनुसन्धान गरोस् र अनुसन्धानका क्रममा राज्यका कुनै पनि निकायले के भएको थियो भनेर सोध्न मलाई अनुसन्धानमा बोलाए, मसँग रहेका प्रमाण बुझाउन तयार छु , मलाई थाहा भएका सबै कुरा बताउन तयार छु । उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शिर निहुराएर नमन गर्नै पर्छ । यसो भन्दै गर्दा, हामीले यो पनि बिर्सन हुन्न कि , हामी त्यो समाजमा बस्छौँ, जुन समाजमा कुनै दिन माता सिताले पनि सहजै अग्नि परीक्षा दिन तयार हुनु भएको थियो । विगतको छवि उच्च रहे पनि , छानबिनका लागी तयार हुन नपर्ने केही कारण नै छैन । उपसभामुखले तत्काल पदबाट राजीनामा दिई, आफूमाथि छानबिनका लागी स्वयं तयार हुनपर्छ । छानबिनका लागी तयार भएर नैतिकताको खडेरी देखिएको नेपाली राजनीतिमा नैतिकताको उदाहरण पेस गर्न सक्नुपर्छ । छानबिनले उहाँ दोषी हो, होइन वा उहाँको सचिवालयले उहाँको जानकारी बिना यसरी मानव तस्करीमा लागेको हो की ? सबै पत्ता लागी हाल्छ । तर आफ्नो विगतको प्रतिष्ठाका खातिर, र आगामी दिनमा पनि नेपाली राजनीतिलाई नैतिकताको पाठ सिकाउन भए पनि आफूमाथि आफैँ छानबिनको माग गर्दै राजीनामा दिनपर्छ । यसै पनि , त्यो पदमा बसेर जनताको जीवनसँग जोडिने गरी के नै काम गर्न सकिन्छ र ? वा गरिएको छ र ? त्यो पदले गर्न सक्ने भनेको नेपालीको इज्जत, प्रतिष्ठा र मर्यादालाई उँचो बनाउनु हो , जुन राजीनामा दिएर गर्न सकिन्छ , नकी पदमा बसेर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार