दुई सामुदायिक वनलाई रेडपाण्डा संरक्षण क्षेत्र घोषणा

शुक्रबार, २५ साउन २०८१
इलाम / जिल्लाका दुई सामुदायिक वनलार्ई रेडपाण्डा अर्थात् (हाब्रे) संरक्षण क्षेत्र घोषणा गरिएको छ । दुर्लभ वन्यजन्तुको सुचीमा पर्ने रेडपाण्डा इलाम नगरपालिका ३ पाटेनागीको पुवामाई सामुदायिक वन र कालपोखरी थाम डाँडा सामुदायिक वन क्षेत्रभित्रको एक सय १६ दशमलव २१ हेक्टर वन क्षेत्रलाई ‘पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र’ घोषणा गरेको हो । इलाम नगर प्रमुख केदार थापाले पुवामाई सामुदायिक वन र कालपोखरी थाम डाँडा सामुदायिक वनलाई सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरेका हुन् । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेनाको रण शार्दूल गण इलामका प्रमुख सेनानी प्रह्लाद घले, नेपाल प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरीक्षक प्रदीप खड्का, डिभिजन वन कार्यालय इलाम प्रमुख दानबहादुर श्रेष्ठसहित सामुदायिक वन, स्थानीय पर्यटन व्यवसायी र पत्रकारको उपस्थितिमा प्रमुख थापाले सामुदायिक रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको हो । नगर प्रमुख थापाले डिभिजन वन कार्यालय इलाम र रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा स्थानीय सरकारद्वारा घोषणा गरिएको रेडपाण्डा संरक्षण क्षेत्र नेपालकै पहिलो संरक्षण क्षेत्र रहेको दाबी गरे । उनले वन ऐन, २०७८ बमोजिम पुवामझुवा सामुदायिक रेडपाण्डा संरक्षण तथा व्यवस्थापन कार्यविधि, २०८० तर्जुमा गरी रेडपाण्डा संरक्षण क्षेत्र घोषणा गरिएको बताए । दुर्लभ वन्यजन्तु रेडपाण्डाको वासस्थान विनाश र विखण्डन जस्ता खतराबाट जोगाउन तथा रेडपाण्डाको लागि सुरक्षित वासस्थान प्रदान गर्नका लागि संरक्षण क्षेत्र घोषणा गरिएको जनाइएको छ । डिभिजन वन कार्यालय इलामका प्रमुख दानबहादुर श्रेष्ठले रेडपाण्डा संरक्षणले जैविक विविधतालाई संरक्षण गर्नुका साथै पर्यापर्यटनसँग जोडेर स्थानीय जनताहरूको जीविकोपार्जन तथा आर्थिक उपार्जनलाई मदत गर्ने विश्वास व्यक्त गरे । रेडपाण्डाको प्रमुख आहारा मालिङ्गो र भालुचिण्डे हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार