विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताएका छन् ।
कोशी प्रदेश सरकारको नेतृत्व गरेको १०० दिन आज पूरा गरेका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सबलीकरण, सेवा प्रवाहको नतिजामुखी कार्यसम्पादन र जबाफदेहिता, सामाजिक सुरक्षा र रोजगारी प्रवर्द्धन, सुशासनको प्रत्याभूति तथा समग्र प्रदेशको हितलाई संस्थागत गर्ने हेतुले प्रदेश सरकारले आफ्ना कार्यक्रम अगाडि बढाएको चर्चा गर्दै अहिलेको सरकार स्थिरता दिने र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा पुगेको कुरामा जोड दिए ।
उनले प्रदेशलाई आमनागरिकहरुले देख्नु, छुन र अनुभूति गर्नसक्ने संरचनाका रूपमा विकास गर्ने पर्ने दायित्व यो सरकारको काँधमा छ भन्दै उनले भने, “प्रदेश सरकारले जनतामा आशाको दियो जगाउने प्रयत्न गरेको छ ।”
मुख्यमन्त्री कार्कीले भने, “गुणस्तरीय सेवा प्रवाह, जनआकाङ्क्षाको सम्बोधन, पूर्वाधार विकासमा तीव्रता, सामाजिक रूपान्तरणका लागि दीर्घकालीन नीति निर्माण र कार्यान्वयन, पर्यटन प्रवर्द्धन र पर्यावरण संरक्षण गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक समृद्धिका साथ प्रदेशको दिगो विकास गर्ने अभियानमा प्रदेश सरकार अग्रसर रहको छ ।”
उनले प्रदेश सरकारले थोरै समयमा सडक सुशासन कायम गर्न विभिन्न ठाउँमा ट्राफिक लाइट जडान, जोगबनीदेखि उत्तर चीनसँग जोडिने किमा थाङ्का सडकको नाका सञ्चालन, प्रदेशमा छ वटा पशु कार्यालय स्थापना, आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी, सुनसरीको सर्दु खोला पुलको उद्घाटन काम सम्पन्न गरेको छ ।
जनताका शान्ति सुरक्षा कायम गर्न विभिन्न स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले तेह्रथुम सदरमुकाम जोड्ने प्रदेश सरकारको ९० करोड लगानी शुक्रबारे–सिधुवा सडकको उद्घाटन पनि प्रदेशको महत्त्वपूर्ण उपलब्धि हो भने ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु गर्न प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका पाँच वटा पालिकामा तीन करोड ७५ लाख लगानीमा झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐँसेलु खर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने सम्झौता पनि भइसकेको जानकारी दिँदै प्रदेश सरकारको लगानीमा सुनसरी र धनकुटाको बिचमा रहको पर्यटकीय स्थल भेडेटारमा स्काई वाक निर्माण सम्पन्न गरी सञ्चालनमा आएको बताए ।
उनले मुख्यमन्त्री कार्यालयमा गुनासो सुनवाइ कक्ष निर्माण, सुशासनका निम्ति प्रशासकीय सुधार कार्यक्रम र दिगो विकासका निम्ति मन्त्रालयका सबै सचिवहरूलाई पटक पटक निर्देशन भइरहेको जानकारी दिँदै प्रदेश सरकारको सय दिनको अवधिमा ६० वटा महत्त्वपूर्ण काम गरेको र जसबाट प्रदेशवासी लाभान्वित भएको जानकारी दिए ।
सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी, सामाजिक विकास मन्त्री पाँच कर्ण राईलगायत विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो । रासस
प्रतिक्रिया