४०० मिटर चौडा खोलामा २०५ मिटर पुलको ठेक्का

मंगलबार, ०४ भदौ २०८१
काठमाडौँ : झापाको गौरीगन्ज–६ चिल्लारा र मोरङको रतुवामाई–३ आमबारीलाई रतुवा खोलाले जोड्छ । खोलाको चौडाइ ४ सय मिटरभन्दा बढी छ, तर १७ वर्षअघि त्यहाँ पुल बनाउन सरकारले ठेक्का लगायो मात्र २ सय ५ मिटरको । खोलाबीचमा अलपत्र त्यो संरचनामा थप ७० मिटर थप्न दुई वर्षअघि अर्को ठेक्का लगाइयो, त्यो काम अझै अधुरै छ । अझ १ सय २५ मिटर पुल कहिले बन्ने हो, टुंगो छैन । पुल बनाउन थालिएको १७ वर्षसम्म पनि पूरा नहुँदा बर्खाका ६ महिना डुंगाबाटै नदी वारपार गर्नुपर्ने बाध्यता छ । मोरङ–सुनसरी पुल आयोजनाले २०६४र६५ मा १० करोड ३२ लाख ९१ हजारमा काठमाडौंको कालिका–ओसिए जेभीलाई निर्माण ठेक्का दिएको २ सय ५ मिटरको पुल छोटो भएकाले खोलाको बीचमै छ । ‘खोलाको चौडाइ ४ सय मिटरभन्दा धेरै छ, तर पुल बन्यो २ सय ५ मिटरको,’ हुलाकी सडक आयोजनाका इन्जिनियर प्रभातकिरण राईले भने, ‘खोलाको बीचमै पुल सकियो ।’ अहिले थप ७० मिटर पुल निर्माणको काम भइरहेको छ । पछिल्लो पटक २०७९ मा समता–आशिष–दीप जेभीले २० करोडमा ठेक्का लिएको थप ७० मिटर पुल निर्माण यसै वर्ष सक्ने लक्ष्य छ । सडक विभागअन्तर्गतको सुनसरी–मोरङ पुल आयोजनाले २०७५ मा निर्माण नै नसकिएको पुललाई ‘फाइनल’ भएको भनेर हुलाकी सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । हुलाकी राजमार्गअन्तर्गत भद्रपुरको मेची पुलदेखि कोशी प्रदेशको राजधानी विराटनगरसम्म ९२ किलोमिटरमा कनकाईसहित पाँच पुल निर्माणाधीन छन् । पप्पु–महादेव जेभीले ३४ करोड ९ लाखमा २०६८ मा निर्माण सम्झौता गरेको कनकाई नदीको पुल २०७२ जेठमै बनिसक्नुपर्ने थियो । हुलाकी राजमार्गकै मेची–रतुवा खण्डको भुतनी खोलाको पुल बनाउन थालिएको पनि ८ वर्ष भइसक्यो, तर अझै निर्माण सकिएको छैन । सोही खण्डमा पर्ने बिरिङ पुल भने १३ वर्षमा हालै निर्माण सकिएको छ ।
२०७३ मा सुरु भएर २०७५ असारमै सक्ने गरी लामा बाम्ती जेभीले ६ करोड ७५ लाख ७३ हजारमा ठेक्का पाएको सानो माइखोला पुलले ८ वर्षसम्म पूर्णता पाएको छैन । लामा बाम्ती जेभीले नै ४ करोड ६४ लाख ४१ हजारमा ठेक्का लिएको २०७३ असारमा सुरु भएर २०७५ असारमा सकिनुपर्ने मेची–रतुवा खण्डको लेहेरा खोला पुलसमेत अलपत्र छ । भौतिक पूर्वाधार मन्त्रालय मातहतको पुल सेक्टर धरानका अनुसार कोशीमा साना–ठूला गरी १९ वटा पुल अलपत्र छन् । तमोर कोरिडोरमा मात्र ८ वटा पुलको निर्माण अपूरै छ । आयोजना प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार कोशीमा करिब ६ अर्ब हाराहारी लागतका पुल निर्माणाधीन छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डको दुधौरा खोलामा तीन वर्षभित्र बनिसक्नुपर्ने पुलको काम ६ वर्षसम्म सकिएको छैन । ८९ मिटर लम्बाइ र २३ मिटर चौडाइको यो पुल बनाउन २०७५ असार २४ मा महादेव–खिम्ती–हिराचन्द जेभीले १५ करोड १२ लाख रुपैयाँमा ठेक्का सकारेको थियो, जसअनुसार २०७८ असार २३ भित्र बनिसक्नुपर्ने थियो । तर ठेकेदारले विभिन्न बहाना बनाएर म्याद थप्दै ६ वर्षमा पिलर उठाउने काम मात्र गरेको छ । सम्झौताअनुसार सडक विभागले पुल डाइभर्सनका लागि बेलिब्रिज उपलब्ध नगराएको, पुलको ‘रि–डिजाइन’ गर्नुपरेको र भुक्तानीमा पनि समस्या भएकाले ढिलाइ हुन गएको ठेकेदार कम्पनीका प्राविधिक साइड इन्जिनियर नितेश झाले बताए । ‘तीन पटक म्याद थप्दै आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘पिलरको काम सकिएको छ, अब स्लाप ढलान सकिएपछि लगभग सम्पन्न हुन्छ ।’ दुधौरामा डाइभर्सन साँघुरो हुँदा घण्टौंसम्म जाम हुने गरेको छ । कम भार भएका साधन बेलिब्रिजबाट चल्छन् भने मालवाहक गाडी नदीबाटै गुड्छन् । बारा निजगढ नजिकै बकैया नदीको पुलमा दुवैतिर ‘हेभी गाडी एकतर्फी गरिएको’ बोर्ड राखिएको छ । ‘पुरानो पुल साँघुरो र जीर्ण भइसकेको छ,’ बारा ट्राफिक प्रहरी प्रमुख रामकुमार महतोले भने, ‘हेभी सवारी एकै पटक वारपार गर्न सक्दैन, दुर्घटनाको जोखिम छ ।’ झन्डै ५० वर्षअघि तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भएका बाराको पथलैयादेखि पूर्व सप्तरीसम्म मुख्य राजमार्गका नदीमा निर्माण भएका पुलहरू जीर्ण र साँघुरा भइसकेका छन् । रौतहट र सर्लाही जोड्ने वाग्मती नदीको पुल पनि जीर्ण छ । वाग्मतीको पुलबाट बढी भार भएका सवारीलाई दोहोरो आवतजावतमा रोक लगाउने गरिएको छ । सर्लाहीकै लखन्देही, चापिनी, कालिन्जोर र फूलजोर खोलाका पुल पनि जीर्ण भइसकेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी बताउँछन् । एक वर्षअघि वाग्मतीको पुल ६ इन्च र चाँदीपुल ४ इन्च तल भासिएपछि पुल महाशाखाले मर्मत गरेको थियो । महाशाखाका अनुसार पथलैया–ढल्केबर खण्डका ५५ वटा पुलमा समस्या छन् । राजमार्गका सबै पुल ‘सिंगल लेन’का छन् । सडक ९ मिटरको छ भने पुल ५ मिटरका छन् । राष्ट्रिय राजमार्ग ४ लेनको बनाउने योजना रहेकाले अब त्यहीअनुसार पुल निर्माण हुने महाशाखाले जनाएको छ । राजमार्गमा दैनिक ५ हजार सवारी गुड्छन् । सधैं व्यस्त रहने राजमार्गका पुलमा रेलिङ भाँचिने, खाल्डो पर्ने जस्ता समस्या बढ्दै गएको छ । महाशाखाका अनुसार राजमार्गका पुलमा जग र बेयरिङ बिग्रने, फलाममा खिया लाग्ने, नदीको ढुंगा र गिट्टी जथाभावी निकाल्दा जग नै भत्कने जस्ता समस्या छन् । महाशाखा प्रमुख ललिजन खनाल पुलहरू पुराना भएकाले समस्या बढेको बताउँछन् । ‘पूर्वपश्चिम राजमार्ग र पुलहरू निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ,’ उनले भने, ‘बिस्तारै सबै नयाँ बन्छ ।’ महाशाखाले ४ वर्षभित्र १ हजार २ सय १ नयाँ पुल निर्माण गरिने जनाएको छ । कमलादेखि वाग्मतीसम्म ७७ किलोमिटर सडकको ठेक्का लागिसकेको छ भने यो क्षेत्रमा ७६ पुल नयाँ बन्न लागेका छन् । राप्ती राजमार्ग सञ्चालनमा आएको दुई दशकपछि २०७६ मा रुकुम पश्चिमको मुसीकोट नगरपालिका–११ र १२ स्थित पितिबाङखोलामा पुल निर्माणको ठेक्का लाग्यो । २०७८ वैशाख ७ भित्र काम सक्ने गरी चितवनस्थित संरक्षण निर्माण सेवाले ५ करोड २८ लाख रुपैयाँमा ठेक्का लिएको पुल निर्माण नहुँदा सल्यान र दाङ हुँदै काठमाडौंसम्म पुग्ने यात्रुले वर्षायाममा सास्ती व्यहोर्दै आइरहेका छन् । ‘गाडी वारपार गर्न बनाइएका कल्भर्ट पानी पर्‍यो कि बाढीले भत्काउँछ,’ स्थानीय बमबहादुर ओलीले भने, ‘खोलामा मोटरसाइकल र साना सवारी स्थानीयलाई पैसा दिएर तार्नुपर्ने बाध्यता छ ।’ अहिले दिनहुँजसो खोला किनारमा झन्डै दर्जन युवा भेटिन्छन् । उनीहरूले मोटरसाइकल तारेबापत ३ सय र साना गाडीको हजार रुपैयाँसम्म लिने गर्छन् । सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर अविनाश अर्यालले ढिलोमा एक वर्षभित्र काम सक्ने गरी म्याद थप्ने प्रक्रिया अघि बढेको बताए । ठेकेदारको लापरबाहीका कारण रुकुम पश्चिम र जाजरकोट जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल झन्डै १२ वर्ष अलपत्र परेपछि ठेक्का रद्द गरेर दुईपल्टसम्म नयाँ टेन्डर आह्वान गरियो । तर ठेक्का नपरेपछि निर्माणको काम धकेलिएको छ । यसअघि २०६९ मा सय मिटरको पुल निर्माणका लागि १३ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएको ललितपुरस्थित वाईपी कन्स्ट्रक्सनले ३० प्रतिशत काम पनि नगरी अलपत्र छाडेको थियो । कर्णालीमा गत वर्ष १ अर्ब २० करोड रुपैयाँमा टेन्डर भएका ५८ वटा पुलमध्ये २३ वटा निर्माण पूरा भएका छन् । विभिन्न राजमार्ग आयोजना कार्यालयमार्फत २३ वटा पुल निर्माण भइरहेका छन् भने ६ पुलको काम पूरा भएको छ । अहिले कर्णालीमा ५ वर्षभन्दा लामो समयदेखि झन्डै ३० वटा पुल अलपत्र छन् । ‘पुलका सबैजसो ठेक्का बहुवर्षीय हुन्छन्, त्यसैले यसको प्रगति एक वर्षमै देखिँदैन,’ सडक डिभिजन सुर्खेतका प्रमुख खुमबहादुर भण्डारीले भने, ‘अहिले पुराना ठेक्का धमाधम रद्द हुन थालेकाले ठेकेदारलाई नैतिक दबाब परेको छ ।’ छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाड खोलामा गलत डिजाइनका कारण झन्डै ११ वर्षदेखि पुल निर्माणको काम अलपत्र छ । आईएमई आरसी कन्सल्टेन्सी ललितपुरले हचुवाका भरमा डिजाइन गर्दा काम अलपत्र परेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर अविनाश अर्यालले बताए । पुल निर्माणका लागि ११ वर्षअघि ३ करोड रुपैयाँमा लुम्बिनी/आशिष जेभीले सम्झौता गरेको थियो । ‘सुरुमा पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल मिलेन,’ उनले भने, ‘पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा काम गर्न समस्या भएको हो ।’ आईएमई आरसी कन्सल्टेन्सीले ७ लाख रुपैयाँमा पुलको डिजाइन गरेको थियो । कम्पनीले ४६ मिटर लम्बाइको पुलको डिजाइन गरे पनि पासागाडमा पुल बनाउने दूरी २५ मिटरभन्दा बढी छैन । डिभिजन कार्यालयका प्राविधिकले निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो । अहिले ठेकेदारले अदालतमा मुद्दा दायर गरेपछि पुल निर्माणको काम अलपत्र परेको छ । ठेक्का तोडिएका पुलमा पनि डिजाइन परिवर्तन हुँदा निर्माणको काम अनिश्चित बनिरहेको छ । सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता भएको १० वर्ष बित्दा पनि निर्माण नभएपछि सुर्खेत–तेलपानी–भुरीगाउँ सडक खण्डको रानीघाटस्थित भेरी पुलको ठेक्का दुई वर्षअघि तोड्यो । २०६९ असार ६ मा ३ वर्षभित्र निर्माण सक्ने भन्दै पप्पु/मल्ल जेभीले १४ करोड २९ लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । तर लामो समय काम अलपत्र भएपछि ठेक्का तोडिएको हो । पुल निर्माणका लागि लिइएका सामग्री नदी किनारमै जीर्ण बनेका छन् । उक्त कम्पनीले ३ करोड ८७ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । ‘हामीले ठेक्का तोडे पनि पहिलेका ठेकेदारले नदीमा बनाएका २ वटा पिलर प्रयोग गरी पुल बनाउन सकिन्छ कि भनेर त्यहीअनुसार रिडिजाइन गरिएको थियो,’ सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख खुमबहादुर भण्डारीले भने, ‘तर सडक विभागले उक्त डिजाइन अस्वीकृत गर्‍यो, अब फेरि डिजाइनको काम हुन्छ ।’ पुल निर्माणका लागि चालु आर्थिक वर्षमा १ करोड विनियोजन गरिएको छ । २०७४ असार ९ मा रसुवा/इलाइट जेभीले झन्डै १६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको सल्यानको कालिमाटी–दम्दबाली–घुइँयाबारी–चप्परगौरी हुँदै नेपालगन्ज जोड्ने सडकअन्तर्गत कालीमाटी गाउँपालिका–७ घुइँयाबारी नजिकै बबई नदीमा पक्की पुल निर्माण थालेको ७ वर्षसम्म पूरा भएको छैन । ‘बन्छ भन्दाभन्दै पुलको प्रतीक्षा गर्न थालेको वर्षौं बित्यो, कहिले बन्ने हो केही ठेगान छैन,’ स्थानीय दयाराम डाँगीले भने, ‘पुल बने बाह्रै महिना गाडी चल्थ्यो, हाम्रो यात्रा सहज हुनेथियो ।’ कतिपय ठाउँमा एउटै ठेकेदारले धेरै पुलको जिम्मा लिँदा पनि लामो समयदेखि योजना अलपत्र पारिरहेका छन् । २०७७ माघ २ मा क्याराभान/हिराचन जेभीले झन्डै २० करोड रुपैयाँमा भेरी करिडोरको जाजरकोट—डोल्पा सडकअन्तर्गतका ५ वटा पुलको ठेक्का लियो । नलगाडखोला, झुर्मेखोला, तात्रखोला, मैदेखोला र ताक्सुगाड खोलाका पुल अलपत्र पर्दा गाडीबाट झरेर झोलुंगे पुलमार्फत वारपार गर्नुपर्ने, गाडी फेर्नुपर्ने र सामान पल्टी गर्नुपर्नेलगायत समस्या भोग्नुपरेको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का भीमबहादुर विकले बताए । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोपनारायण पौडेलका अनुसार पुल निर्माणमा ठेकेदारको लापरबाही, डिजाइनमा त्रुटि, वातावरणीय प्रभाव मूल्यांकनमा ढिलाइ, जग्गा प्राप्तिमा समस्या, सडकको क्षेत्राधिकार कायममा ढिलाइलगायत कारण काम अलपत्र हुने गरेको छ । डोटी शिखर नगरपालिका–१ बान्डुंग्रीसैनस्थित सेती नदीमा तीन वर्षभित्र निर्माण सक्ने गरी २०७१ असार २० मा ठेक्का लागेको पुलको एक दशकमा २५ प्रतिशत पनि काम भएको छैन । सडक डिभिजन कार्यालय कुलपातेले ३ सय २० मिटर लामो आरसीसी पुल निर्माण गर्न पप्पु–रोजेन्द्र जेभीसँग २६ करोड २० लाखमा सम्झौता गरेको थियो । पुलका लागि चार वटा पिलर मात्र खडा गरिएका छन् । सात स्पानको पुलका लागि पाँचौं पटक थप गरिएको म्याद २०८० असारमै सकिएको थियो । २०८२ वैशाखभित्र काम सक्ने निर्माण कम्पनीको मौखिक प्रतिबद्धतामा सडक डिभिजन कार्यालय बसेको छ । ठेकेदारले अनेक बहाना बनाउँदै काममा ढिलाइ गर्दै आएको हो । सुरुको म्याद सकिने अवधिसम्म कामै सुरु नहुँदा कम्पनीले फाउन्डेसनमा समस्या भएको बताएको थियो । निर्माणको काम हेर्दै आएका कम्पनीका इन्जिनियर अनुप ऐरीले ठेकेदारले दुई वर्ष थप म्याद मागेको बताए । पुलको निर्माणमा ढिलाइ भएको भन्दै शिखर नगरपालिका–११ का स्थानीयसमेत रहेका पत्रकार रामहरि ओझाले दर्ता गरेको सार्वजनिक सरोकारको रिटमा सुनुवाइ गर्दै २०८० जेठ १० मा उच्च अदालत दिपायलले पुल निर्माण यथासक्य चाँडो सक्नका लागि प्रभावकारी पहल चाल्नू भनी सडक डिभिजनका नाममा र समन्वय तथा सहजीकरण गर्नू भनी शिखर नगरपालिकाका नाममा परमादेश दिएको थियो । उक्त आदेशको पनि वास्ता नगरिएको ओझाले बताए । सडक डिभिजन कुलपातेका प्रमुख रमेश भट्टराई पुलको काम हालसम्म २५ प्रतिशत मात्र भएको बताउँछन् । गत वर्ष असारमा बाजुराको खप्तड छेडेहद गाउँपालिका–४ ग्वानीका २३ वर्षीया संगीता साउदको बार्जुगाडमा बगेर मृत्यु भयो । उनी बगेको ठाउँमा नौ वर्षअघि ठेक्का लागेको पक्की पुल अहिले पनि अधुरै छ । तत्कालीन जिविसले २०७२ असारमा ठेक्का लगाएको पुलका लागि २०७६ भित्र निर्माण सम्पन्न गर्न २ करोडमा साउद एड्भेन्चर जेभी नामक निर्माण कम्पनीले सम्झौता गरेको थियो । बुढीगंगा नगरपालिका–४ र खप्तड छेडेदह–३ को बीचमा पर्ने बार्जुगाडमा पुल नबन्दा सडक अवरुद्ध हुने गरेको छ । वर्षात्का बेला स्थानीयलाई बार्जुगाड तर्न जोखिम मोल्नुपर्ने अवस्था छ । झाली, पुडाबाउँला, टुनीसैन र बानेगाउँका बासिन्दा यही खोला तरेर दैनिक आवतजावत गर्न बाध्य छन् । सुरुमा लेआउट गरेको ठाउँमा पहिरोले जमिन बगाएपछि अर्को ठाउँमा निर्माण गर्नुपर्दा ढिलाइ भएको साउद एड्भेन्चर जेभीका प्रतिनिधि ईश्वर साउदले बताए । हाल उक्त पुलको निर्माण गराउने जिम्मेवारीमा रहेको प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय साँफेबगरका प्रमुख रुद्रबहादुर बोगटीले थपिएको एक वर्षभित्र काम सम्पन्न हुने बताए । कैलालीको धनगढी उपमहानगरपालिका–१६ घुरही खोलामा पक्की पुलले धनगढी र पर्यटकीय स्थलका रूपमा परिचित थारू होमस्टे रहेको भादा गाउँ जोड्थ्यो । उक्त पुल होचो, साँघुरो र जीर्ण भएको भन्दै धनगढी महानगरपालिकाले २०७८ मा भत्काएर नयाँ पुल निर्माणका लागि ठेक्का लगायो । ठेक्का पाएको टेडी/मित्र जेभी कम्पनीले पुरानो पुल भत्कायो । नयाँ पुलका लागि नालामा पिलर बनाउन खाल्डा पनि खन्यो । अहिले पुल बन्नु त कता उल्टै खाल्डामा बालबालिकालाई जोखिम बढाएको छ । २०७८ कात्तिकमा धनगढी उपमहानगरपालिका र टेडी/मित्र जेभीबीच २०८० असोजमा सम्पन्न गर्न तीन करोड दुई लाख ५४ हजारमा ठेक्का सम्झौता भएको थियो । तर म्याद सकिएको एक वर्ष बित्नै लाग्दा पुलका पिलरको जगसमेत बनेको छैन । पुल नहुँदा भादा, तिलकपुर, घसिटालगायतका गाउँका बसिन्दालाई बर्खाका बेला खोला तर्नै नसक्ने अवस्था छ । धनगढी–१६ का पूर्ववडाध्यक्षसमेत रहेका भादा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले उपमहानगरपालिकामा पटकपटक समस्या सुनाउँदा पनि सुनुवाइ नभएको बताए । उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले निर्माण कम्पनीले लापरबाही गरेकाले जरिवाना गरेर आगामी आर्थिक वर्षभित्र काम पूरा गराउने बताए । ठेकेदारले गत असारभित्र दुई वटा पिलर उठाउने प्रतिबद्धता गरे पनि अहिलेसम्म काम गरेको छैन । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार