काठमाडौँ : अध्यागमन विभागका नवनियुक्त महानिर्देशक रामचन्द्र तिवारीले विभागको समग्र छविमा आमूल सुधार गर्दै पूर्ण रूपमा सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
आज कालिकास्थानस्थित विभागीय कार्यालयमा आयोजित पद बहाली समारोहमा तिवारीले “विश्वसनीय अध्यागमन सेवा” का लागि कार्यशैलीमा आमूल परिवर्तन ल्याउने बताए।
कार्यक्रममा पूर्वमहानिर्देशक गोविन्द प्रसाद रिजालको बिदाइ गर्दै तिवारीले राष्ट्रिय सुरक्षा, सेवा प्रवाह, तथा अन्तर्राष्ट्रिय विश्वसनीयता अभिवृद्धिमा विभागको भूमिकालाई थप प्रभावकारी बनाउने बताएका हुन्।
तिवारीले भने, “अध्यागमन विभागप्रति जनविश्वास पुनः स्थापित गर्दै म पूर्ण रूपमा पारदर्शी, जबाफदेही र प्रविधि–मैत्री प्रणाली निर्माणमा लाग्नेछु। सुधार केवल भाषणको विषय नभई व्यवहारमै देखिने गरी अघि बढ्छु।”
गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाबाट सरुवा भएका तिवारी विगतमा उद्योग विभागका महानिर्देशक, सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा गृह मन्त्रालयमा विभिन्न जिम्मेवारीमा रहेर कार्य गरिसकेका अनुभवी प्रशासक हुन्।
उनको नेतृत्वमा अध्यागमन सेवा प्रवाह, निगरानी प्रणाली, प्रविधि प्रयोग र सेवाग्राही सन्तुष्टिका क्षेत्रमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ। पद बहाली समारोहमा विभागीय उच्च अधिकारी, कर्मचारी तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो।
तिवारीले आफ्नो कार्यकालमा नीतिगत सुधार, प्राविधिक सुदृढीकरण तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा विशेष प्राथमिकता दिने जनाउँदै पूर्वमहानिर्देशक रिजालको योगदानको प्रशंसा गरे। नयाँ नेतृत्वसँगै विभागमा थप सुधार र प्रभावकारिता देखिने विश्वास गरिएको छ।
प्रतिक्रिया