विद्यालयको बाँझो जमिनमा १७ हजार चियाका बिरुवा रोपियो

विहीबार, ०६ भदौ २०८१
इलाम / रोङ गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको बाँझो जग्गामा १७ हजार चियाको बिरुवा रोपिएको छ । गाउँपालिका– ३ मा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयको खाली जमिनमा चियाको बिरुवा लगाइएको हो। रोङ गाउँपालिकाले विद्यालयको करिब २४ रोपनी बाँझो जमिनमा बिरुवा लगाएको छ। गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत श्रमिक प्रयोग गरेर विद्यालयमा चिया लगाएको रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले जानकारी दिए। गत वर्ष पाँच हजार र यस वर्ष १२ हजार नयाँ चियाको बिरुवा रोपिएको उनले बताए । वनमार्फत समृद्धि कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरणको संयुक्त लगानी र प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रमिकमार्फत चियाको बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । चिया रोपेपछि रोङको नमुना उन्मुख विद्यालय शान्ति निकेतनलाई दिगो रूपमा आर्थिक स्रोत बन्ने अध्यक्ष स्याङ्बोको भनाई छ । सयौँ रोपनी सरकारी विद्यालयको जमिन बाँझो राखेर मार्कर किन्ने पैसाका लागि सरकारको मुख ताक्ने परिपाटी अन्त्य गर्नका लागि यो अभियान चलाएको बताइएको छ । विद्यालयको नाममा र ऐलानी जमिन गरी शान्ति निकेतनसँग करिब १५० रोपनी जग्गा रहेको गाउँपालिकाले जनाएको छ । आगामी दिनमा थप ५० रोपनी क्षेत्रमा चिया विस्तार गर्दै सात वर्षभित्र वार्षिक १० लाख आम्दानी पुर्‍याउने गाउँपालिकाले जनाएको छ। रोङ गाउँपालिकाकै सबैभन्दा बढी करिब चार सय विद्यार्थी रहेको यो विद्यालयले सानो व्यवस्थापकीय खर्चका लागि पनि गाउँपालिकाकै मुख ताक्नुपर्ने अवस्था छ। सात वर्षपछि विद्यालय आन्तरिक खर्च जुटाउन सक्ने अवस्थामा रहने अध्यक्ष स्याङ्बोले जानकारी दिए । शान्ति निकेतनमा चियाको बिरुवा रोप्न गाउँपालिकाले बिरुवा खरिद र श्रमिकका लागि नौ लाख दश हजार ८८२ खर्च गरेको छ। गाउँपालिकाको वनमार्फत समृद्धि कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत खर्च गरिएको गाउँपालिकाले जनाएको छ। चियाको बिरुवा रोङ– ३ मा रहेको इको चिया सहकारीबाट ल्याइएको हो। उक्त सहकारीबाट उत्पादन हुने चिया तथा बिरुवा अर्ग्यानिक प्रमाणित हो। यहाँको उत्पादित चिया जर्मनसम्म निर्यात हुन्छ। विद्यालयमा रोपिएको चियालाई पनि अर्ग्यानिक रूपमा उत्पादन गर्ने अध्यक्ष स्याङ्बोले बताए। रोङ गाउँपालिकाले सरकारी जमिनलाई बाँझो नराख्ने उद्देश्यका साथ सामुदायिक विद्यालयका जग्गा, ऐलानी जग्गा तथा सामुदायिक वनको जग्गामा भौगोलिक अवस्था हेरेर विभिन्न खेती लगाइएको अध्यक्ष स्याङ्बोले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार