गाई दुहुने मेसिन पाएपछि इनरुवाका किसान खुसी

मंगलबार, ११ भदौ २०८१
इनरुवा । सुनसरीको इनरुवाका गाईपालक किसान अनिल यादवको कृषि फर्ममा १० वटाभन्दा बढी गाई छन् । विगतमा यादवलाई ती गाई दुहुन निकै समस्या थियो । “एकै गाई दुहुन २० मिनेटभन्दा बढी समय लाग्थ्यो । सरसफाइको विषयमा उपभोक्ताहरूले पनि प्रश्न गर्थे तर अचेल भने केही सहज हुँदैछ”, यादवले भने । स्थानीय इनरुवा नगरपालिकाले अन्य दुई जनासहित पनि गाई दुहुने मेसिन प्रदान गरपछि सहज भएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रमा रहेका तीनजना व्यावसायिक पशुपालक किसानलाई केही दिनअघि मेसिन प्रदान गरिएको जनाएको छ । नगरपालिका प्रमुख केदार भण्डारीले गाई फार्म व्यवस्थित गर्न र दूध उत्पादन बढाउने उद्देश्यअन्तर्गत ५० प्रतिशत अनुदानमा मेसिन सहयोग गरिएको जानकारी दिए । “गोठ तथा फार्ममा १० भन्दा बढी गाईपालन गर्ने किसानलाई छनोट गरिएको थियो । हातले दुहुदा ढिलो हुने र सरसफाइलगायत समस्या हुने गरेको गुनासोपछि पहिलो पटक व्यावसायिक किसानलाई मेसिन दिएका हौँ”, उनले भने । नगर पशुशाखा प्रमुख डा. राजकुमार यादवले समय लागत घटाउने, सजिलै गरी बढी र सफा दूधसमेत दुहुन मेसिनबाट सहयोग पुग्ने बताए । मेसिन प्राप्त भएपछि गाई दुहुन सहज भएको स्थानीय किसान राजेश्वर यादवले बताए । मेसिन पाएपछि विगतमा गाई दुहुदा भोगेका समस्या समाधान गर्न सहज भएकाले उनि खुसी छन् । “केही दिनअघि मात्रै मेसिन पाएका छौँ । पहिले एउटा गाई दुहुन कम्तिमा २० मिनेट समय लाग्थ्यो, त्यसमा केही सहज भएको छ । गाई दुहुन लाग्ने समय बचत भएपछि थप अरु काम गर्न सहज हुने अपेक्षा छ”, कृषक यादवले भने ।-रासस

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार