डेढ वर्षमा विद्यालयको बाल बचत खातामा ८८ लाख जम्मा

सोमबार, १७ भदौ २०८१
इलाम : सूर्योदय नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा सञ्चालन गरेको बाल बचत खातामा डेढ वर्षको अवधिमा ८८ लाख रुपियाँभन्दा बढी रकम जम्मा भएको छ । विद्यार्थीले गर्ने फजुल खर्च कटाएर बचत गर्ने बानीको विकास गर्नका लागि नगरपालिकाले नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीको बैङ्क खाता खोली सञ्चालन गरिएको बाल बचत खातामा उक्त रकम जम्मा भएको हो । विद्यार्थीले दैनिक न्यूनतम पाँच रुपियाँका दरले रकम जम्मा गर्दा २०७९ मङ्सिरदेखि २०८१ असार मसान्तसम्म सामुदायिक र संस्थागत विद्यालयमा गरी ८८ लाख ७३ हजार ५१५ रुपियाँ रकम जम्मा भएको सूर्योदय नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेलले जानकारी दिए । नगरले बाल बचत खाता सञ्चालनसम्बन्धी कार्यविधि बनाएर सुरुमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बचत गराएको थियो । नगरले गत शैक्षिक सत्रदेखि संस्थागत विद्यालयका विद्यार्थीको समेत खाता सञ्चालन गरी बचत कार्यक्रममा सहभागी गराएको छ । नगरपालिकामा ६५ वटा सामुदायिक विद्यालयमा भर्ना भएका दुई हजार ६६५ जना विद्यार्थीमध्ये दुई हजार ४९० जनाको खाता सञ्चालन गरिएको छ । यसबाट सामुदायिकतर्फ ८५ लाख ८८ हजार ४५० रुपियाँ जम्मा भएको छ । बसाइँ सरी आउने तर कागजी प्रक्रिया पूरा नगरेका कारण केही विद्यार्थीको खाता सञ्चालनमा समस्या भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए । नगरभित्रका ३१ वटा संस्थागत विद्यालयका दुई हजार ३४ जना भर्ना भएका विद्यार्थीमध्ये ७४७ जनाले मात्र खाता खोलेको पाइएको छ । जसबाट संस्थागततर्फ दुई लाख ८५ हजार ६५ रुपियाँ मात्र रकम जम्मा भएको शाखाले जनाएको छ । विद्यार्थीले नगरको कार्यविधि अनुसार न्यूनतम दैनिक पाँच रुपियाँका दरले मासिक १५० रुपियाँ जम्मा गर्ने गरेका छन् भने फजुल खर्च घटाएर त्योभन्दा बढीकै दरले रकम जम्मा गर्ने गरेको शाखा प्रमुख भट्टराईले जानकारी दिए । नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यार्थीको भविष्यलाई ध्यानमा राखी बचत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । विद्यार्थी र अभिभावक पनि चलायमान बनाउन पनि सो कार्यक्रम प्रभावकारी भएको उनको बनाई छ । शैक्षिक गुणस्तर सुधारमा लाग्दै प्रविधिमैत्री शिक्षामा जोड दिइरहेको नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को कुल बजेट एक अर्ब १० करोड ७५ लाख २४ हजार पाँच सय रुपियाँमध्ये शिक्षा क्षेत्रमा मात्र ३६ करोड २७ लाख ७० हजार रुपियाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये आन्तरिकतर्फ चार करोड ६३ लाख र अन्य ससर्तको रकम रहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार