पाँचथर बम विष्फोट घटना : मृतककी आमा भन्छिन् – ‘मेरो कोख रित्तियो, राज्यले छानबिन गरोस्’

शुक्रबार, २१ भदौ २०८१
पाँचथर : मानव अधिकार र बाल अधिकारका क्षेत्रमा क्रियाशील दुईवटा संस्थाले दुई बालबालिकाको ज्यान जाने गरी विष्फोट भएको पाँचथरको फालेलुङ ५ प्राङवुङ स्थित डाडागाउँमा स्थलगत अध्ययनसँगै ज्यान गुमाएका र घाइते भएका बाल बालिकाका आफनतसँग भेटघाट गरेका छन । विष्फोट भएको एक साता पुग्दा विराटनगरस्थित मानव अधिकारबादी संस्था इन्सेक र बालबालिकाका क्षेत्रमा क्रियाशील सिविन नेपालको प्रादेशिक कार्यालयबाट आएको टोलीले स्थलगत अध्ययन गर्दै घटनाको जानकारी लिएको हो । टोलीले विष्फोटमा ज्यान गुमाएका दिप्सन र प्रिन्सा साँवाका अविभावक दिलीप र पूजा साँवा, घाइते पवन र दिप्सन राईका अविभावक ज्ञानवहादुर र दीपक राईसहित घटनास्थल आसपासका नागरिकसँग भेटघाट गरेको हो । भेटघाटका क्रममा अधिकांश स्थानीयले बेवारिसे बम सशस्त्र द्वन्दमा प्रयोग गरेर उचित व्यवस्थापन हुन नसक्दा घटना भएको बताएका छन् । मृतक दिप्सन र प्रिन्साकी आमा पूजा साँवाले विष्फोटका कारण आफ्ना दुई जना सन्तानको ज्यान गएको भन्दै घटनाको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् । ‘दुवैजना छोराछोरी मरे, मेरो कोख रित्तियो, बम कहिले र कस्ले बेवारिसे अवस्थामा छोडेको हो ? राज्यले छानबिन गरोस्, अरु निर्दोष मानिस मर्नु नपरोस् ।’ उनले भनिन् । भदौ १३ गते बिहीबार दिउँसो स्थानीय आइतराज केरुङको घरमा विष्फोट हुँदा स्थानीय दिलीप साँवा र पूजा साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाइ वर्षकी छोरी प्रिन्सा साँवाको निधन भएको थियो । स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र दीपक राईका छोरा दिप्सन घाइते छन उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । विष्फोट भएको घर पूर्व माओवादी कार्यकर्ता आइतराज केरुङ (आइवी)को हो । हाल सो घरमा स्थानीय ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । केरुङ परिवार भने २०६८ सालदेखि सदरमुकाम फिदिममा बसिरहेको छ । स्थानीय जनप्रतिनिधि सो घर द्वन्दकालमा माओवादीको सेल्टरका रूपमा रहेको बताउँछन् । फालेलुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका स्थानीय वडाध्यक्ष भरतकुमार खपाङगीले उक्त बम द्वन्दका समयमा माओवादीले लुकाएर राखेको र सही ढंगले व्यवस्थापन नगर्दा केटाकेटीले भेटेर खेलाउँदा विष्फोट भएको बताउँछन् । वडा सदस्य मानबहादुर थाम्सुहाङले प्राङवुङ क्षेत्रमा अरु पनि बेवारिसे बम हुनसक्ने भन्दै सम्भावित स्थानमा खोजी गरी निष्क्रिय पार्नुपर्ने सुझाव दिए । घटनापछि डाडागाउँ शोकमा डुबेको छ । यहाँका अधिकांशले घटना निष्पक्ष छानबिनसँगै घाइतेको उपचार र मृतकका आफन्तलाई न्याय दिलाउन राज्यले कुनै कसर बाँकी राख्नु नहुने माग गरेका छन् । अधिकारकर्मीहरूको टोलीमा इन्सेक विराटनगर कार्यालयका मनोहर पोखरेल र पूण्य अधिकारी सँगै सिविन विराटनगरका प्रमूख बासु अधिकारी र मनो परामर्शकर्ता सलिना सापकोटा लगायत सहभागी थिए । घटनास्थलको अध्ययनपछि संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरूले घटनाको प्रभावकारी छानबिन, पीडितलाई न्यायिक कार्बाही, घाइतेको उपचार र मृतक परिवारलाई न्याय दिन राज्यले कुनै कसुर बाँकी राख्न नहुने बताएका छन् । यस्ता घटना दोहोरिन नदिन विद्यालय र समुदायस्तरमा सचेतना फैलाउनुपर्ने देखिएको इन्सेक विराटनगरका मनोहर पोखरेलले बताए । टोलीले जिल्लास्थित सुरक्षा निकाय र स्वास्थ्यकर्मीको टोलीसँग पनि छलफल गरेको छ । सोही टोलीको समन्वयमा घाइते बालकहरूलाई काठमाण्डौँ पठाइएको हो । बालक र उनीहरूका अविभावकलाई काठमाण्डौँसम्म पु¥याउने व्यवस्था गाउँपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्वेले जानकारी दिए । उपचारको प्रवन्ध सिविन नेपालले मिलाएको हो । उनीहरूको उपचार सहयोगार्थ आर्थिक संकलन पनि सुरु गरिएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार