बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

बुधबार, २६ भदौ २०८१
तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२, नारीघाटमा आज (बुधबार) दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको हो । दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए । प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ। यसै गरी बसको पछाडिपट्टि बी ४६५० नम्बरको कार ठोक्किएको थियो । पुलबाट बस खस्दा ११ घाइते यसैगरी पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट बस खस्दा ११ जना घाइते भएका छन् । मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो । घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पु¥याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । उनले भने, “त्यस ठाउँमा नयाँ र पुरानो दुई वटा पुल छन् । बीचमा ग्याप छ । बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार