काठमाडौं : लागूऔषध बिक्री गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्व सांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले पुष्टि गरे ।
प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापा मगरलाई लागूऔषध ट्रपाइनको ९७ चक्कीसहित गत साउन ३ गते पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए ।
त्यसपछि उक्त फार्मेसीका सञ्चालकसमेत रहेका पूर्व सांसद श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ । उनलाई आज (बिहीबार) प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसअघि रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीले निस्काषन गरेको थियो ।
प्रतिक्रिया