गण्डकी : गण्डकी प्रदेशमा प्रेस स्वतन्त्रताको पक्षमा करिब दुई दशकदेखि क्रियाशील हुँदै आएकी पत्रकार विमला भण्डारी गण्डकी प्रदेशको एघारौँ तहको प्रेस रजिष्ट्रारमा नियुक्त भएकी छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई यस महत्वपूर्ण पदमा नियुक्त गरेको सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले जानकारी दिए ।
रजिष्ट्रारका लागि पाँच जनाको आवेदन परेकोमा सर्टलिस्टमा परेका तीनजनाबाट भण्डारीलाई चयन गरिएको उनले बताए । यो नियुक्तिले पत्रकारिताबाट आएका महिला नेत्रीहरूको योगदानलाई थप मान्यता दिएको छ।
भण्डारीले पत्रकारिताबाट प्रेस स्वतन्त्रता र समाजको सचेतना वृद्धि गर्दै महिला नेतृत्वलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी प्रथम महिला अध्यक्ष पनि हुन् । पत्रकारिता क्षेत्रमा आफ्नो सशक्त भूमिका निर्वाह गर्दै आएकी उनी प्रेस स्वतन्त्रता र महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छिन् ।
नवनियुक्त प्रेस रजिष्ट्रार भण्डारीले गण्डकी प्रदेशका सञ्चारमाध्यमहरूको सुदृढीकरण र लोकतान्त्रिक मूल्यमान्यताहरूप्रति प्रतिबद्धता झल्काउने बताइन् ।
प्रतिक्रिया