मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

बुधबार, ०२ असोज २०८१
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार विश्वासको मत पाएका छन् । दुईतिहाइ मतसहित उनले विश्वासको मत पाएका हुन् । मत विभाजनको प्रक्रियामार्फत मतदान हुँदा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएनन् । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिएनन् । प्रदेशसभा बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए । यसअघि कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए । नेकपा (माओवादी केन्द्र)ले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । कोशीमा ९३ जना प्रदेशसभा सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् । कोशी प्रदेशसभा अहिले एमाले र कांग्रेसको सरकार छ । केन्द्रमा पनि एमाले र कांग्रेसबीच गठबन्धन सरकार छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार