इलाम । इलाममा बीभत्स हत्या भएको अवस्थामा १ जना महिलाको शव फेला परेको छ । ती महिलाका श्रीमान झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
घटनाका बारेमा प्रहरीले मंगलबार बिहान ७ बजेतिर जानकारी पाएको थियो । इलाम प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार सन्दकपुर गाउँपालिका–१ की ४० वर्षीय फूलकुमारी राईको हत्या भएको हो ।
घरमुनिको गोरेटो बाटोमा मंगलबार बिहान फूलकुमारीको बीभत्स शव फेला परेको उनले बताए ।
धारिलो हतियारले पछाडिबाट टाउको र गर्दनमा काटेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए । उनका अनुसार फूलकुमारीका पति ४६ वर्षीय उजबहादुर राई घरदेखि तलको अम्लिसो घारीमा रहेको निमारोको रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार पतिले पत्नीको हत्या गरेपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी राईले बताए ।
उनका अनुसार राई दम्पतीका २ छोरा छन् । जेठो छोरा विदेशमा रहेको र कान्छो छोरा फुपूको घरमा गएको पाइएको प्रहरीले जनाएको छ । घरमा पति पत्नी मात्रै बस्दै आएको डीएसपी राईले बताए ।
पारिवारिक द्वन्द्वका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने डीएसपी राईले बताए । उनका अनुसार घटना सोमबार बेलुकाकै हुनसक्ने अनुमान छ ।
प्रतिक्रिया