कोशीमा सभामुख र उपसभामुखलाई इन्धन सुविधा थप

मंगलबार, ०८ असोज २०८१
विराटनगर : कोशी प्रदेशका सभामुख र उपसभामुखका लागि थप इन्धन सुविधा थप गरीएको छ । कोशी प्रदेश सरकारले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि मासिक ५० लिटर इन्धन सुविधा थप गरेको हो । विगतमा पाउँदै आएको भन्दा परिणाम बढाएर इन्धन दिन थालिएको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची १ मा सभामुखले मासिक १ सय ५० र उपसभामुखले १ सय २५ लिटर इन्धन पाउने प्रावधान थियो । अनुसूची संशोधनपछि अब सभामुखले २ सय २५ लिटर र उपभामुखले १ सय ७५ लिटर इन्धन सुविधा प्राप्त गर्नेछन् । बाहिर छलफल नगरिकन मन्त्रिपरिषद् बैठकमार्फत इन्धन सुविधा थप गरिएको हो । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २० का आधारमा मन्त्रिपरिषद् बैठकले सुविधा थप गरेको थियो । दफा २० मा ‘प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूची हेरफेर गर्न सक्ने’ प्रावधान छ । सभामुख र उपसभामुखका लागि इन्धन सुविधा थप्ने निर्णय भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले गरेको हो । त्यसलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोही दिनको मिति राखेर राजपत्रमा सूचना प्रकाशित गरेको थियो । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट सभामुख र नेकपा (एमाले)की सृजना दनुवार उपसभामुख छन् । सभामुखले मासिक ६२ हजार ५ सय ४० र उपसभामुखले ५९ हजार पारिश्रमिक पाउँछन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार