विराटनगर : मोरङको रंगेलीमा चट्याङ लागेर मंगलबार (आज) दिउँसो एक जना महिलाको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार खेतबाट घाँस काटेर घर फर्कदै गर्दा अचानक परेको चट्याङले लागेर रंगेली नगरपालिका–९ की ४५ वर्षीया साक्रो हेमरनको मृत्यु भएको हो । धान खेतबाट घाँस काटेर फर्किने क्रममा दिउँसो १२ः३० बजेतिर परेको चट्याङले लागेर ती महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी बस्नेतले दिए ।
उनका अनुसार हेमरनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । ‘घाँसको मुठो बोकेर घामबाट छलिनका लागि छाता ओढेर घरतिर फर्किदै गरेको अवस्थामा अचानक चट्याङले लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।
उनका अनुसार शव क्षतविक्षत र टाउकाको बायाँ भागको कपाल जलेको थियो । ‘गर्मी छल्न ओढेको छाता टुक्राटुक्रा भएको छ । छाताको डन्ठी पग्लिएको अवस्थामा भेटियो,’ बस्नेतले भने । मृतकको घरबाट घटनास्थल करिब २ किलोमिटर पश्चिममा पर्ने उनले बताए ।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेको छ ।
त्यस्तै, सोही ठाउँमा चट्याङले लागेर एक जना युवती घाइते भएकी छन् । डीएसपी बस्नेतका अनुसार २२ वर्षीया विनिता हेमरन घाइते भएकी हुन् । घाँस काटेर घरतर्फ फर्किने क्रममा उनलाई चट्याङले लागेको प्रहरीले जनाएको छ ।
कानबाट रगत बगिरहेको अवस्थामा उद्धार गरेर उनलाई प्रहरीले उपचारका लागि रंगेली अस्पताल पठाएको छ । डीएसपी बस्नेतका अनुसार अवस्था मध्यम छ ।
चट्याङ परेका बेला खुला ठाउँमा हिँडडुल गर्दा घटना भएको प्रहरीको अनुमान छ । चट्याङबाट जोगिनलाई सतर्कता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ । ‘चट्याङले मानवीय क्षति गरिरहेको छ,’ बस्नेतले भने, ‘त्यसबाट बच्न सतर्कता अपनाउनुपर्छ ।’
प्रतिक्रिया