इलाम / इलाममा खोरेँत रोगविरुद्ध खोप अभियान सुरु भएको छ । जिल्लाका आठ पालिकामा यो कार्यक्रम सुरु भएको हो । इलाम पशुपालनमा अगाडी तथा दूधमा आत्मा निर्भर जिल्ला हो । यहाँका आठ जिल्लामा पहिलो चरणमा खोप अभियान थालिएको छ ।
चुलाचुली र माङ्सेबुङ गाउँपालिका बाहेकका पालिकामा अभियान सुरु भएको छ ।
इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माई नगरपालिका र देउमाई नगरपालिकामा यो कार्यक्रम सुरु भएको छ । त्यस्तै फाकफोकथुम, सन्दकपुर, माइजोगमाई र रोङ गाउँपालिकामा खोरेँतविरुद्ध पशुमा खोप लगाउन थालिएको इलामस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको छ ।
इलामका किसान पशुपालन र दूध उत्पादनमा व्यावसायिक बन्दै गएकाले खोरेँतमुक्त गराउनु अनिवार्यजस्तै भएको छ । इलाम मात्र नभई कोसी प्रदेशलाई नै खोरेँत रोगमुक्त गराइ पशुजन्य उत्पादनको अन्तर्राष्ट्रिय बजारका लागि पहल गरिने लक्ष्य रहेको कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले बताए । उनले यस प्रदेशलाई खोरेँत मुक्त बनाउन काम भइरहेको जानकारी गराएका छन् ।
‘उत्पादित घिउ, छुर्पी, दूधसहित मासु विदेशी बजारमा पठाउन पनि खोरेँतमुक्त पशु हुनु पर्ने भएकाले यो अभियान थालिएको जनाइएको छ ।
जिल्लामा यस पटक एक लाख ४१ हजार खोप माग छ । प्रथम चरणको खोप अभियानमा एक लाख २४ हजार खोप आएको र त्यो खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी नवीन वैद्यले जानकारी दिए ।
इलाममा आर्थिक वर्ष २०८०÷०८१ मा गाई गोरुको सङ्ख्या दुई लाख ७७ हजार दुई सय ६० छ ।
प्रतिक्रिया