सप्तकोसी नदीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार, चालक प्रहरीको नियन्त्रणमा

विहीबार, १० असोज २०८१
विराटनगर : कोशी ब्यारेजबाट सप्तकोसी नदीमा खसेको बसका सबै यात्रुको सकुशल उद्धार गरिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले बसका चालक सिराहाको लहान नगरपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय चन्दनकुमार मेहतालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार चालक मेहतालाई इलाका प्रहरी कार्यालय भारदहमा राखिएको छ । चालक १, सहचालक २ तथा १४ जना यात्रुसहित बसमा १७ जना रहेको र सबैको सकुशल उद्धार भएको जानकारी डीएसपी न्यौपानेले दिए । सबै जनालाई स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि विभिन्न अस्पतालमा पठाएको उनको भनाइ छ । उनका अनुसार दुर्घटनामा मानवीय क्षति हुन पाएन । उद्धार गरिएका सबैको अवस्था सामान्य छ । यसअघि घटनास्थलबाट २० जनाको उद्धार गरिएको भनिएपनि १७ जना रहेको खुलेको छ । न्यौपानेले घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको जानकारी दिए । उनका अनुसार विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट साँझ ६ः१० बजेतिर सप्तकोशी नदीमा खसेको थियो । बस खसेको स्थान सप्तरीमा पर्छ । सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट बस नदीमा खसेको जानकारी उनले दिए । ‘विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस आफैं अनियन्त्रित भएर सप्तकोशी नदीमा खसेको हो,’ उनले भने, ‘ब्यारेजको ३५ नम्बर ढोकादेखि दक्षिणतर्फको साइडबाट बार भत्काउँदै बस नदीमा खसेको थियो ।’ दुर्घटनाको कारण थप अनुसन्धानपछि पत्ता लाग्ने उनले बताए । उनका अनुसार नदीमा खस्ने क्रममा बसले ब्यारेजको पुलका बारहरु भत्काएको छ । बस अहिले पनि नदीमै रहेको र बाहिर निकाल्ने प्रयास भइरहेको न्यौपानेले बताए । सप्तरी र सुनसरीबाट खटिएका प्रहरी तथा स्थानीय उद्धारमा सक्रिय भएर लागेका थिए । ब्यारेजको ३५ नम्बर ढोका खुला नभएका कारण बस खसेको स्थानमा पानीको सतह कम थियो । पानी सतह कम भएकैले नदीमा खसे पनि बस डुब्न पाएन । जसका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । ‘केही वरपरका अरु ढोका खुला भएपनि बस खसेको स्थानको ३५ नम्बरसहित आसपासका ढोकाहरु खुला थिएनन्,’ न्यौपानेले भने, ‘ढोका खुला नभएको ठाउँमा पानीको सतह कम भएकैले बस डुब्न पाएन ।’ न्यौपानेका अनुसार पानीको सतह कम र बहाव नभएकै कारण सबैको सकुशल उद्धार सम्भव भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ । यो पनि - विराटनगरबाट गाइघाट जाँदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खस्यो

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार