मोरङमा नाबालक दाजुभाइको मृत्यु प्रकरण : २६ लाख दिने सर्तमा घटना सामसुम

शुक्रबार, १८ असोज २०८१
विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसिङ इण्डष्ट्रिजको खाल्डोमा डुबेर नाबालक दाजुभाइको मृत्यु भएको घटना पैसा दिने सर्तमा सामसुम पारिएको छ । क्रसर परिसरको खाल्डोमा जमेको पानीमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेन चौलागाईंको बिहीबार मृत्यु भएको थियो । क्रसरको चरम लापर्बाहीले एउटै परिवारका २ नाबालकले ज्यान गुमाएको गम्भीर एवं पीडादायी तथ्यलाई लुकाएर पैसा दिने सर्तमा घटना मिलाइएको छ । घटनाका विषयमा शुक्रबार केराबारी गाउँपालिका कार्यालयमा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगरलगायतका जनप्रतिनिधि, पीडित पक्ष, क्रसरका संचालक एवं गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्कीसहित क्रसर व्यवसायीका प्रतिनिधि, प्रहरीलगायत उपस्थित थिए । वडाध्यक्ष कमलकुमार बस्नेतका अनुसार पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको छ । ‘गाउँपालिकामै सर्वपक्षीय छलफल भयो । आगामी दिनमा क्रसरले यस्तो कमजोरी नदोहोर्याउने सहमति भएको छ,’ उनले भने, ‘गाउँपालिकाले पनि कार्यपालिका बैठकबाट निर्णय गरेर मृतकका अभिभावकलाई राहत रकम उपलब्ध गराउने कुरा छ । गाउँपालिकाले क्रसरको अनुगमनमा टोली पठाएर सत्यतथ्य पत्ता लगाउने विषयमा गहन छलफल भयो ।’ बस्नेतका अनुसार पीडित पक्षलाई किरिया खर्चबापत तत्काल १ लाख रूपैयाँ क्रसर संचालकले उपलब्ध गराएका छन् । अपुग भएमा थपिदिने सहमति छ । क्षतिपूर्ति र राहतबापत २५ लाख दिने र मृतक बालकहरुका नाममा २ लाख रूपैयाँको अक्षयकोष स्थापना गरिदिने सहमति भएको जानकारी वडाध्यक्ष बस्नेतले दिए । जग्गा उपलब्ध गराएमा क्रसर संचालकले घर पनि बनाइदिने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी केराबारी–८ का सभापति दीपक बस्नेतका अनुसार मृतकका अभिभावकको पारिवारिक आर्थिक अवस्था अति नै कमजोर छ । ‘उनीहरु सुकुम्वासीजस्तै हुन् । अर्काले दिएको जग्गामा बसेका छन् । शौचालयसमेत गाउँलेले नै बनाइदिएका थिए,’ बस्नेत भन्छन्, ‘मृतक नाबालकहरुका बाबु तोयानाथ शारीरिक रूपमा अपांगता छन् । त्यही क्रसरमा काम गर्छन् । सबै हिसाबले नाजुक अवस्थाकै कारण पैसा दिने सर्तमा घटना मिलाइएको छ ।’ सर्वपक्षीय छलफलमा बस्नेत पनि सहभागी थिए । तोयानाथको सन्तानका रूपमा अब एउटी छोरी मात्रै रहेको उनले बताए । उनका अनुसार आगामी दिनमा कम्पाउण्डलाई घेराबारा गरेर र खाल्डाखुल्डी पुरेर मात्रै क्रसर चलाउने सहमति भएको छ । पीडितको पक्षमा मजवुत ढंगले कुरा राखिदिने नहुँदा लापर्बाही गर्ने क्रसरलाई भने कारबाही नहुने अवस्था उत्पन्न भएको छ । ‘पीडित पक्षलाई पैसामा मिलाइसके । तर, २ नाबालकको ज्यान जाने गरी गम्भीर लापर्बाही गर्ने क्रसरलाई कारबाही हुने देखिएन,’ छलफलमा सहभागी १ जनाले भने, ‘विभिन्न क्रसरमा गाउँपालिका अध्यक्ष, उनका परिवारदेखि पूर्वअध्यक्षसमेतको लगानी छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०का स्थानीय नेताहरुले लगानी गरेका छन् ।’ गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ आफैं क्रसर व्यवसायी हुन् । २ नाबालकको मृत्यु भएको कृष्ण क्रसरमा उनका बुवा नवीन थापामगरदेखि गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की, रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको स्थानीय बताउँछन् । केराबारी–८ को खदम खोलामा ४ वटा क्रसर छन् । कृष्ण, माहादेव मिनरल उद्योग, शिवम् एग्रिगेट र जय माता दी सम्राटसमेतका क्रसर उद्योगहरु रहेका हुन् । स्थानीयका अनुसार कुनै पनि क्रसरहरु मापदण्डअनुरूप चलेका छैनन् । मनपरी ढंगबाट चलिरहेका क्रसरको पीडा सहन नसकेपछि स्थानीयले बेलबखत विरोध गर्छन् । तर, पेलेरै उनीहरुको आवाज दबाउने काम हुन्छ । स्थानीयको मागको सुनुवाइ नै हुँदैन । क्रसरको अनियन्त्रित दोहनका कारण केराबारीको अस्तित्व संकटमा पर्दै गएको स्थानीयको गुनासो छ । केराबारीका पूर्ववडाध्यक्ष मनोज खड्का महादेवका देखिने संचालक हुन् । त्यसमा गाउँपालिका अध्यक्ष मिरिङचिङको सेयर रहेको स्थानीय बताउँछन् । शिवम् एग्रिगेटमा नरेन्द्र चापागाईंलगायत र जय माता दी सम्राटमा अरुण गुरुङलगायतको लगानी रहेको गाउँपालिकाले जनाएको छ । क्रसर संचालकले पैसा दिने सहमति जनाएपछि मृतक २ नाबालकको शव बुझेर अभिभावकले अन्त्येष्टि गरेका छन् । दुवै शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । क्रसरको चरम लापर्बाहीले घटना भएको स्थानीय लीलानाथ घिमिरेले बताए । उनका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो । गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको घिमिरे बताउँछन् । खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ । भण्डारणको बीचमा रहेको खाल्डोमा डुबेर २ नाबालकको मृत्यु भएको जानकारी घिमिरेले दिए । ‘क्रसरले अनियन्त्रित हिसाबबाट दोहन गरिरहेका छन् । प्राकृतिक स्रोतमाथि गरेको अत्याचार हेरिनसक्नु छ । क्रसरले ठुल्ठूला भौडी (खाल्डा) बनाएका छन् । नदीजन्य पर्दा उत्खनन् गरेपछि भौडी पुर्दैनन् । चरम लापर्बाहीले घटना भयो,’ उनी भन्छन् । घिमिरेका अनुसार राज्य संयन्त्रकै मिलेमतोमा क्रसर संचालकले मनपरी गरिरहेका छन् । खदम खोलालाई नियन्त्रणमा लिएर जथाभावी उत्खनन् गरिएको उनले बताए । अवैध उत्खननले मानव बस्ती, जंगल र प्राकृतिक सम्पदालाई ठूलो असर गरिरहेको घिमिरेको भनाइ छ । ‘गाउँपालिका अध्यक्ष आफैं क्रसर व्यवसायी हुन् । एउटा क्रसरले लापर्बाही गर्दा कारबाही गर्ने आँट गर्दैनन् । किनभने भोलि आफ्नो क्रसरतर्फ पनि औंला उठ्नसक्छ भन्ने उनलाई परेको छ । उनीहरुका बुवा–छोरा नै क्रसरका लगानीकर्ता हुन्,’ अर्का एक स्थानीयले भने । उनका अनुसार स्थानीय सरकार र वनसँगको मिलेमतोमा क्रसरले अवैध उत्खनन तीव्र पारेका छन् । प्रचलित कानुनको धज्जी उडाएर प्राकृतिक स्रोतमाथि अनियन्त्रित दोहन भइरहँदा पनि छानबिन र कारबाहीको कुनै प्रक्रिया अघि बढाइएको छैन । स्थानीय सरकारका प्रमुख नै क्रसर संचालक भएपछि कारबाही गर्ने आँट कसैले नगरेको हुनसक्ने सबैको बुझाइ छ । यस विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष मिरिङचिङ सम्पर्कमै आउन चाहेनन् । पटक–पटक गरेको फोन उठाएनन् । मिरिङचिङ एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । स्थानीय तह निर्वाचनमा उनले कांग्रेसका उम्मेदवार एवं कृष्ण क्रसरका लगानीकर्ता रोहित कार्कीलाई पराजित गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार