कोशीमा आँखा उपचारका लागि प्रभावकारी सेवा विस्तार गर्न छलफल

शुक्रबार, १८ असोज २०८१
विराटनगर : कोशी प्रदेश सरकारले आँखा रोग उपचारका लागि प्रभावकारी सेवा प्रदेशभरी विस्तार गर्न आवश्यक छलफल सुरु गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार (आज) विराटनगर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ, मन्त्रालयका सचिवसहितका सरोकारवालाहरूसँग आँखा रोगको उपचारलाई प्रभावकारी बनाउनेबारे छलफल गरेका हुन् । प्रदेशमा स्मार्ट भिजन ग्लासको प्रयोगलाई नमूनाको रूपमा कसरी लैजान सकिन्छ र प्रदेशका दुर्गम जिल्लाहरूमा आँखा उपचार सेवा पुर्याउनका लागि काम गर्ने गरी छलफल भएको कार्कीले बताए । गायिका मेनुका पौडेलले प्रयोग गरेको स्मार्ट भिजन ग्लास प्रदेशका दृष्टिविहिनहरूलाई प्रयोग गर्नेगरी नमूना कार्यक्रम सुरु गर्ने विषयमा छलफल भएको थियो । मोबाइलसहित करिब एक लाख रुपैयाँ पर्ने उक्त स्मार्ट भिजन ग्लास प्र्रयोगले दृष्टिविहिनहरूको जीवन सहज बनाउन र उनीहरूलाई काम गर्नसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । तिहारअघि तीन जना प्रदेश दृष्टिविहिनहरूलाई यसको प्रयोग गर्नेगरी विराटनगर आँखा अस्पतालले तयारी सुरु गरेको छ । यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताए । प्रदेशमा करिब चार हजार चार सय जना दृष्टिविहिन नागरिक छन् । छलफलमा नेत्रज्योति संघ प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी, स्वास्थ्य सचिव डा. राधिका थपलियालगायतको सहभागिता थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार