अवरुद्व तमोर करिडोरमा चल्न थाले चार पाङ्ग्रे सवारी

सोमबार, २१ असोज २०८१
पाँचथर : बाढीका कारण अवरुद्व तमोर करिडोरको धनकुटा मुलघाटदेखि पाँचथरको फिदिम खण्डमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा आएका छन् । असोज ९ देखि १२ गतेसम्म भएको अविरल वर्षासँगै धनुकटा र पाँचथरलाई सिमाना छुट्याएर बग्ने नावा खोलामा बाढी आएर केही स्थानमा पहिरो जाँदा उक्त सडक सञ्चालन हुन सकेको थिएन । नावा खोलामा स्काभेटर लगाएर खोला फिजाएपछि चार पाङ्ग्रे साधन आवतजावत गर्न मिल्ने बनाइएको हो । खोलो फराकिलो बनाएर गाडी तर्न सक्ने बनाइएसँगै आइतबार बिहानैदेखि दमक, इटहरी, विराटनगर र धरान हुँदै धनकुटाको मुलघाटबाट पाँचथरको फिदिमसम्म आउने र फिदिमबाट त्यसतर्फ जाने सवारी साधन आवागमन गर्न थालेका हुन् । तमोर करिडोर आयोजनाका प्रमुख प्रदीप निरौलाले मोटरसाइकलसहितका दुई पाङ्ग्रे साधन भने उक्त सडकमार्फत तत्काल ल्याउन, लैजान नसकिने बताए । ‘पानीको मात्रा उल्लेख्य रहेकाले अहिल्यै तार्न सक्ने अवस्था छैन, घटेपछि केही सहज हुन्छ,’ निरौलाले भने । तमोर करिडोर सञ्चालनमा ल्याइएसँगै धरानको बाटो भएर पेट्रोलियम पदार्थ लिएर आएका ट्याङ्कर पाँचथरको फिदिम आइपुगेका छन् । धनकुटा पाँचथर खण्ड खुलेपनि पाँचथर–ताप्लेजुङ खण्डको अवरोध यथावत् छ । सोही सडक खण्डको हेवा खोलामा बाढीले सडक भत्काउनका साथै हेवा खोलाको बेलिब्रिज बगेका कारण आवागमन ठप्प भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार