उत्पादन छ, बजार छैन

विहीबार, २५ फागुन २०७९
इलाम । व्यावसायिक बंगुर पालनमा लागेका इलामका युवा दिनेश महतको फारममा ३ सयभन्दा बढी बंगुरहरु छन् । २०७५ सालबाट ब्यावसायिक बंगुर पालन गर्दै आएका महतका फारममा उन्नत जातका बंगुरहरु छन् । बिशेषगरी कुखुरा र कुखुराका दाना तथा भेटनरी सञ्चालन गर्दै आएका उनी कुखुरासँगै बंगुर पालनमा लागेका हुन् । बंगुरको संख्या बृद्धि भइरहेको छ । पछिल्लो समय महतजस्तै पशु तथा कृषि पेशामा समेत युवाको आकर्षण बढ्न थालेको छ । केहीले बाख्रा पालन त केहीले च्याउ तथा अन्य कृषिजन्य वस्तुको उत्पादन लागेको पाइन्छ । महतको फारममा बंगुरको हेरचाहका लागि दुई परिवारलाई रोजगारी दिइएको छ । माँ दुर्गा एग्रीकल्चर एण्ड रिसर्च सेन्टरको नामबाट फर्म दर्ता गरेर व्यावसायिक बंगुर पालन थालिएको महतले बताए । आधुनिक तरिकाबाट गरिएको बंगुरपालनबाट बंगुरको संख्या बृद्धि भएर ३ सय पुगेको हो । बंगुरको पाठा जन्मेको ४५ दिनपछि माउबाट छुटाउन र बेच्न सकिने सो फारमका कामदार कृष्ण बराइलीले बताए । माउबाट छुटाइसकेपछि पाठापाठी बेच्न सकिने बताइएको छ । छिटो बृद्धि र विकास हुने भएपछि पछिल्लो समय उन्नत जातका पाठापाठी खरिद गरेर ब्यवसायिक बंगुर पालन थालिएको हो । हाल रेन्डस, ड्युरो, योगसायर र हेमसायर गरी चार जातका बंगुर फारममा रहेको बताइएको छ । हाल पाठापाठीदेखि दुई सय किलोभन्दा वढिका बंगुर छन् । उत्पादन बढे पनि उनको फारमबाट सोचेजस्तो आम्दानी भने नभएको सञ्चालक महतको भनाई छ । यहाँ उत्पादन भएको बंगुर लोकल बजारमा विक्री वितरण भइरहेको छैन । हेर्दा उस्तै देखिए पनि सुँगुर र बंगुरमा उपभोक्ताले खानमा सुँगुर नै रुचाउने भएकाले स्थानिय बजारमा यसको खपत नभएको बताइएको छ । स्थानीय बजारमा बिक्री नभएको र बाहिर समेत बंगुर बिक्री भएर नगएपछि समस्या भएको महतको भनाई छ । प्याकेजिङ गरेर बाहिर निर्याततर्फ पनि सरकारले उचित सहयोग गर्नुपर्ने किसानहरुको माग छ । तर सरकारले पछिल्लो समय कृषिमा अनुदानको कार्यक्रम ल्याए पनि बिक्री वितरणमा चासो नदिएको उनको भनाई छ । किसानले मेहनतका साथ उत्पादन गरेका कृषि उपज बिक्री वितरणमा सरकारले सहजीकरण गरिदिनु पर्ने उनको माग छ । लामो समय मेहनत गरेपछि मात्र बिक्री वितरण गरेर आम्दानी लिन सकिने यो पेशामा युवालाइै प्रोत्साहन गर्न सकियो भने मात्र दिगो विकासमा टेवा पुग्ने छ । कृषि क्षेत्रमा सरकारले मोटो रकम विनियोजन गर्ने गरेको छ । तर गर्नै पर्ने ठाउँ पर्याप्त गर्न नसक्दा किसानहरुको गुनासो बढी छ । कोरोना महमारीका बेला लकडाउन र कामको बिकल्प खोज्ने युवाहरुको रोजाइमा परेको कृषि पेशाप्रति उत्तिकै बितृष्णा जाग्न थालेको युवाहरुको भनाई छ । तर उत्पादन गरेको वस्तु बिक्री नहुँदा किसानहरु चिन्तित भएका छन् । अनुदानसँगै उत्पादित वस्तुको बजारीकरणमा समेत स्थानीय सरकार लाग्नु पर्ने किसानहरुको भनाई छ । बाख्रा पालन ब्यवसायमा लाग्नेहरुको समेत अवस्था उस्तै छ । निकै खर्च गरेर खोर निर्माण गरी बाख्रा पालनमा लाग्नेहरुको दुखेसो उस्तै छ । सुरुमा महंगो मुल्यमा पाठापाठी तथा माउ खरिद गरेको भएपनि हाल गाउँमा नै बाख्रा नबिक्ने गरेको किसानहरुको भनाई छ । पछिल्लो समय कृषिमा अनुदान समेत पहुँचवालाले मात्र पाउने किसानहरुको दुखेसो छ । ब्यवहारिक भन्दा पनि कागजी प्रक्रियाबाट नै पहुँचवालाले अनुदान पाउने भएपछि वास्तविक किसानहरु निरास छन् । कृषि पेशा गरेर जिविको गर्ने वास्तविक किसानहरुले अनुदानको प्रक्रिया नै बुझ्न समय लाग्छ तर अनुदानका लागि लाग्नेहरुले भने कागज बनाउने र सम्बन्धित निकायमा पेश गरेर रकम लिने प्रवृत्ति बढेको साना किसानहरुको भनाई छ । यस्ता कार्यमा समेत सम्बन्धित निकायले चासो राख्न जरुरी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार