विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० किस्ती पुलमा तीव्र गतिमा रहेको टिपरले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ क ३४१७ नम्बरको टिपरले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २८ प ६१३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ३ः४० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक महिलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार अन्दाजी ३०/३२ वर्षीया महिलाको पहिचान खुल्न सकिरहेको छैन । टिपरले ठक्कर दिएपछि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको जानकारी डीएसपी जोशीले दिए ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले दिउँसो ४ः३० बजेतिर मृत घोषित गरिदिएका हुन् । शवलाई पोस्टमार्टमका लागि अहिले कोशी अस्पतालमै राखिएको छ । मृतकका कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । टिपर र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिए पनि टिपर चालक फरार भएका छन् ।
फरार रहेका चालकको खोजी तीव्र पारिएको जोशीले बताए । ‘मृतकको पहिचानको प्रयास गरिरहेका छौं,’ उनले भने, ‘घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।’
प्रतिक्रिया