बेलबारी : आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि झापा ११ फुटबल क्लबले चुमेको छ ।
शनिबार मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो ।
उपाधिसँगै झापा ११ ले ८ लाख नगदसहित अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । यस्तै, उपविजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगद सहित ट्रफी प्राप्त गरेको छ ।
पाँच–पाँच खेलाडीले टाइब्रेकर प्रहार गर्दा झापा ११ का पाँचै खेलाडीले गोल गरेका थिए । झापाका लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे । सलहेस फुटबल क्लब सिराहाका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गर्दा समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीप लिम्बूले बचाए ।
खेलको ५० औं मिनेटमा सलहेस फुटबल क्लब सिराहाका अजयी मार्टिनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए ।
७१ औं मिनेटमा झापाका प्रदीप बुढाथोकी जवाफी गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।
१–१ गोलको बराबरीपछि रोमाञ्चक बनेको फाइनल प्रतिस्पर्धा निर्धारित ९० मिनेटमा थप कुनै गोल नभइ टुङ्गिएको थियो । त्यसपछि खेलको अन्तिम निर्णय सिधै टाइब्रेकरबाट गरिएको हो ।
फाइनल खेलको म्यान अफ द म्याच झापाका अभिषेक गुरुङ घोषित भए । उनले नगद पाँच हजारसहित ट्रफी प्राप्त गरे ।
यस्तै, झापाकै सन्दीप लिम्बू उत्कृष्ट गोल रक्षक, उत्सव राई उत्कृष्ट मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । तामाङले १० हजार नगदसहित ट्रफी र अरू खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे ।
यस्तै सलहेस फुटबल क्लवका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेसका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफी प्राप्त गरे ।
विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राई लगायतले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।
एलएक्ससिटी फुटबल क्लब बेलबारी–११ ले कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिक्रिया