आठ घण्टा काम गर्दापनि पाँच सय ज्याला पाउँदैनन् चिया मजदुर

आइतबार, ११ कार्तिक २०८१
  • टीका खतिवडा
इलाम : ज्यालामा भेदभाव रहेको इलामका चिया मजदुरले गुनासो गरेका छन् । कारखाना भित्र र बाहिर काम गर्ने मजदुरको ज्याला फरक फरक रहेको भन्दै गुनासो गरेका हुन् । कारखाना भित्र काम गर्ने मजदुरले ज्याला पाँच सय पाउँदै आएका छन् । तर बाहिर चिया बगानमा काम गर्ने मजदुरलाई चार सय ५८ मात्र दिइने गरेको मजदुर सरस्वती चम्लागाइँले बताइन् । उनका अनुसार बाहिर बढी जोखिम रहेपनि रोजगार दाताले भेदभाव गरेर ज्याला दिने गरेका छन् । इलाममा बिस १९२० सालमा चिया रोप्न थालिएको इतिहास छ । सो समय देखी हालसम्म आउँदा पनि मजदुरले कम ज्याला र पाउँदै आएको ज्यालामा पनि भेदभाव रहेको बताउँदै आएका छन् । नेपालको चियामा इतिहास बोकेको इलाम चिया कमानका मजदुरले बाटो सहज नहुँदा चिया बोक्न समस्या रहेको, बिच, बिचमा टहरा निर्माण नहुँदा घाम र पानीबाट ओतिने ठाउँ नभएको जस्ता गुनासो गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेस इलामले गरेको स्वास्थ्य तथा सुरक्षा विषयक कार्यक्रमका सहभागी मजदुरले अन्य क्षेत्रका मजदुरले भन्दा कम ज्याला रहेको बताएका छन् । दैनिक आठ घण्टा काम गर्दा पनि पुरापुरी पाँच सय नपाउँदा परिवार चलाउन नै समस्या हुने गरेको बताएका छन् । मजदुरले सातामा पाउने शनिवारको बिदा समेत नपाउने गरेको बताएका छन् । काम गरेको दिनको मात्र ज्याला पाउने गरेको भन्दै गुनासो गरे । इलाम चियाबारी सांघाइ ग्रुपले लिजमा लिएको छ । हाल चियाबारी र कारखाना सञ्चालन गर्दै आएको सांघाई ग्रुपले चिया बारीमा शौचालय निर्माण नगर्दा बाहिर नै शौच गर्नु पर्ने समस्या रहेको, आफैँ बोकेर ल्याएको खाजा खान पनि कारखानाको बार्दलीमा बसेर खानु पर्ने समस्या रहेको मजदुर फुर्वा तामाङले बताए । श्रम ऐन अनुसार काम गर्न र गराउन पहिला त मजदुरको युनियन दर्ता गराउनु पर्ने ट्रेड युनियनका केन्द्रीय कोषाध्यक्ष सञ्जय दाहालले बताए । उनले राज्य वा कुनै पनि रोजगार दाताले श्रम ऐन अनुसार नै मजदुरलाई ज्याला उपलब्ध गराउनु पर्ने भन्दै नगरेमा नेपाल ट्रेड युनियन काँग्रेस डटेर लाग्ने बताए । ट्रेड युनियन काँग्रेस कोशी प्रदेश कार्य समितिका सचिव ओमनाथ आचार्यले युनियन दर्ता पनि रोजगारदाता र श्रमिक दुवै पक्षलाई फाइदा हुने बताए । कार्यक्रममा कोसी प्रदेश कार्य समितिका सहसचिव हरिनाथ फूयाँलले सहजीकरण गरेका थिए । ट्रेड युनियन काँग्रेस इलामका अध्यक्ष जीवन कुमार सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव ढाकाराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार