इटहरीको मेलामा जुवाजन्य खेल

शुक्रबार, १६ कार्तिक २०८१
सुनसरी : इटहरीमा जुवाजन्य खेल खेलाएको पाइएको छ । इटहरी ९ स्थित जनता माविको प्राङ्गणमा आयोजना भइरहेको मेलामा जुवाजन्य खेल खेलाएको पाइएको हो । इटहरी फुटबल क्लबको आयोजनामा गत असोज २४ गतेदेखि जारी रहेको मेलामा जुवाजन्य खेल खेलाएको जानकारी आएपनि प्रहरी भने मूकदर्शकजस्तै बनेको छ । मेला कात्तिक २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सवको अनुमति दिएपनि जुवाजन्य खेलमा प्रतिबन्ध लगाएको हुन्छ । अनुमतिमै जुवाजन्य खेल प्रतिबन्ध भनिएपनि मेलाको नाममा खुलेआम रूपमा जुवाजन्य खेल खेलाएको पाइएको हो । मेलामा डाइस, ‘लक्कीसेभेन’जस्ता जुवाजन्य खेल खेलाएको पाइएपनि इटहरी प्रहरी भने मूकदर्शक बनेको छ । कानुनले नै बर्जित गरेका उक्त खेल खेलाउँदा मोटो रकम चलखेल हुन्छ । कानुनी रूपमा बन्देज लगाइएको खेल खेलाउन प्रहरी, प्रशासनसँग सेटिङ गरेको स्रोतको दाबी छ । इटहरीबाट प्रहरी खटिएर उल्टै सुरक्षा दिने र जुवाजन्य खेललाई प्रोत्साहित गर्ने गरेकोसमेत स्रोतको दाबी छ । मेलामा खेलाइने डाइस खेल्नका लागि बाक्लो संख्यामा मानिसहरूको भीड लाग्ने गरेको छ । उक्त भीडबाट मोटो रकम चलखेल हुने गरेको छ । ‘इटहरीमा जुवाजन्य खेल नखेलाइनुपर्ने हो, अझ यहाँका मान्छेले कौडा त नखेल्नुपर्ने हो,’ प्रहरीको दाबी छ, ‘जिल्ला र प्रदेशको टोली पनि इटहरीमै छ ।’ दसैँ तिहार महोत्सव भनिएको उक्त मेलामा डाइससहित अन्य विभिन्न जुवाजन्य खेलमा मोटो रकम चलखेल हुने गरेको बताइन्छ । ‘आफूलाई प्रतिष्ठित भनेर दाबी गर्ने व्यवसायीहरू पनि डाइस खेलमा सहभागी हुन्छन्, उनीहरूले नै पनि यो खेललाई प्रोत्साहित गरेका हुन्छन्,’ एक प्रत्यक्षदर्शीले प्रदेश खबरसँग भने, ‘खासमा भन्ने हो भने यस्ता मेलामा सबैजसोलाई मिलाएर (पैसा बुझाएर) जुवाजन्य खेल खेलाइन्छ ।’ ती प्रत्यक्षदर्शीका अनुसार इटहरीको उक्त मेलामा एक सय रुपैयाँदेखि १० हजारभन्दा बढी रकम एकपटकमा डाइसमा थापिन्छ । आफूले रोजेको नम्बर परे पैसा नियमानुसार पाइन्छ नभए उक्त रकम आयोजकले नै राख्छ । सिधासिधी यो जुवा हो । र, जुवाजन्य खेललाई कानुनले बर्जित गरेको छ । तर, यो सबै थाहा पाउँदापाउँदै पनि सम्बन्धित निकाय भने बेखबरजस्तै बन्नुको पछाडि भनेको आर्थिक चलखेल नै हुनसक्ने ती व्यक्ति बताउँछन् । ‘इटहरीमा मोटो रकम चलखेल हुने जुवाजन्य खेललाई प्रहरीले नै संरक्षण गरेकोजस्तो देखिएकाले यसबारे सम्बन्धित निकायको ध्यान जान जरूरी देखिन्छ,’ उनले भने । मेलाबाहेक पनि इटहरीको विभिन्न ठाउँमा दसैँ, तिहारको समयमा मोटै रकममा जुवाजन्य गतिविधि हुँदै आएको स्रोतको दाबी छ । खासगरी दसैँको टीकाको भोलिपल्ट इटहरीको एक व्यवसायीको घरमा मोटो रकमसहित जुवाजन्य खेल भइरहेको थियो । उक्त सूचना पाएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी छापा मार्न आयो । तर, इटहरी प्रहरीबाट सूचना चुहावट भएपछि जुवाजन्य गतिविधिमा संलग्नहरू भागेका थिए । यसले पनि पुष्टि हुन्छ कि, प्रहरीकै संरक्षणमा इटहरीमा जुवाजन्य गतिविधि भइरहेको छ । यता, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले यसबारे खण्डन गरे । उनले प्रहरीले संरक्षण गरेको भन्ने कुरा मिथ्या रहेको बताए । ‘प्रहरीले संरक्षण गरेको भन्ने नै हुँदैन,’ उनले भने, ‘मेलामा जुवाजन्य खेल खेलाइएकोबारे मेरो नोटिसमा छैन । के रहेछ म बुझ्छु ।’ उनले प्रहरीले सूचना पाएका केही ठाउँमा पुग्दा त्यहाँ केही पनि नपाएको बताए । ‘जुवाजन्य खेल भएकोबारे हामीलाई सूचना आएको केही ठाउँमा पुग्दा त्यहाँ केही पनि पाइएन,’ उनले भने, ‘सायद गलत सूचना आएको हुनसक्छ ।’ उनले सूचना आएको अवस्थामा यसबारे निगरानी बढाउने बताए । अहिले इटहरी प्रहरीमा एक सय ८० जना जनपथ छन् । यसअघि एक सय ६० जना रहेपनि प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडबार्डको समयमा २० जना प्रहरी थप गरेको छ । अझै प्रहरी अपुग रहेकोसमेत डीएसपी भण्डारीले सुनाए । ‘इटहरीमा अझै एक सय जना प्रहरी भएपनि अपुग हुन्छ,’ उनले भने, ‘तर हामीले व्यवस्थापन गरिरहेका छौँ ।’ खासगरी इटहरीमा जुवाजन्य खेलको गतिविधि गर्ने व्यक्ति र होटलको नाम पनि लिष्ट गरिरहेको प्रहरी स्रोतको दाबी छ । यता, मेलाको संयोजन गरिरहेका कपिल गुरुङले भने जुवाजन्य खेल नभएको बताए । ‘त्यस्तो केही छैन । गल्ती भएको अवस्थामा हामी सच्चिएर अगाडि बढ्छौँ,’ उनले फोन सम्पर्कमा भने । उनै गुरुङले नै पूर्वमा हुने सबैजसो मेलाको संयोजन गर्दै आएका छन् । यसबारे सुनसरीका प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले भने मनोरञ्जनात्मक खेलको नाममा डाइसलगायतका जुवाजन्य खेल खेलाउन नपाउने बताए । ‘डाइस खेल नै भइरहेको छ भने कानुनत पाईँदैन,’ एसपी तिम्सिनाले भने, ‘त्यस्तो इलिगल केही रहेछ भने म आजैबाट बन्द गराउन लगाउँछु ।’ उनले आफू इटहरी प्रहरीमा ०६४ सालमा इञ्चार्ज हुँदा पनि उक्त ठाउँमा मेला लाग्ने गरेको स्मरण गर्दै मनोरञ्जनात्मक खेल भने खेलाउन पाउने बताए । उनले थपे, ‘नगरपालिका र जिल्ला प्रशासनबाट स्वीकृति लिएर मात्रै मेला लगाउन पाइन्छ । त्यहाँ लाग्ने मेलाले स्वीकृति लिएको होला । यद्यपि, इलिगल खेल भइरहेको छ भने बन्द गराइन्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार