मोरङमा दोषी ठहर भएका ३ जना फरार प्रतिवादी पक्राउ

विहीबार, २२ कार्तिक २०८१
विराटनगर : जिल्ला अदालत मोरङले विभिन्न मुद्दामा दोषी ठहर गरेका तीन जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना वृद्ध पनि छन् । मोरङको कटहरी गाउँपालिका–२ का ७० वर्षीय भगत मुखिया, कटहरी–१ का ४५ वर्षीय सन्तोष राजवंशी र पथरीशनिश्चरे नगरपालिका–९ का १९ वर्षीय खोमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अदालतले दोषी ठहर गर्दै जरिबाना तथा कैदको सजाय सुनाए पनि उनीहरु पक्राउ परेका थिएनन् । वृद्ध मुखियालाई जिल्ला अदालत मोरङले जालसाज मुद्दामा २०८० साल माघ ४ गते १ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको जोशीले बताए । उनका अनुसार राजवंशी चेक अनादर मुद्दामा २ हजार ५ सय रूपैयाँ जरिबाना तोकिएका प्रतिवादी हुन् । नकबजनी चोरी मुद्दाका प्रतिवादी खोमबहादुरलाई चैं अदालतले जरिबाना र कैद दुवै सजाय तोकेको छ । अदालतले गत असार ९ गते ३० हजार रूपैयाँ जरिबाना र २ वर्ष ११ महिना ७ दिन कैद सजाय हुने फैसला गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई प्रहरीले बुधबार नै अदालतमा पेस गरेको छ । अदालतले जरिबान तोकिएकासँग त्यसबापतको रकम लिएको छ । कैदको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार