काठमाडौँ । सरकारले आफ्ना माग पुरा नगरे चैतबाट लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपालले गाउँ गाउँबाट वित्तीय संस्था लखेट्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
मङ्गलवार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई गैर जिम्मेवार नबन्न चेतावनीसमेत दिएको छ ।
कार्यक्रममा प्राडा सुरेन्द्र केसीले वर्तमान ओली सरकार पीडितहरूलाई न्याय दिनेभन्दा निर्मम हुन थालेको आरोप लगाए ।
केसीले लघुवित्त पीडितहरूको प्रतिवेदन सरकारले सार्वजनिक र कार्यान्वयन गर्नुपर्ने धारणा राख्दै भने,‘सरकारले पीडितका कुरा नसुन्ने हो भने यो सरकारलाई यीनै पीडितको आन्दोलन चुनौती बन्ने निश्चित छ ।’
समितिका अध्यक्ष मणिराम ज्ञवालीले नेपाल सरकार राष्ट्र बैङ्कको डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले लघुवित्त पीडित प्रतिवेदन २०८१ असार २६ गते पारित प्रतिवेदनलाई सार्वजनिक र कार्यान्वयन गर्न माग गरे । सरकारले त्यसो नगरेकाले थप मागहरूसहित समग्र वित्तीय शोषण विरुद्धमा आउने चैत ५ गतेदेखि काठमाडौँ केन्द्रीकृत आन्दोलन गर्ने घोषणा गरेका छन् ।
अध्यक्ष ज्ञवालीले माग पुरा नहुन्जेल आन्दोलनमा जुट्न लघुवित्त, बैङ्क, सहकारी र मिटर ब्याजी पीडितहरूलाई एकजुट भई आन्दोलनमा जुट्न अनुरोध गरे । ज्ञवालीले वित्तीय शोषण विरुद्धको सङ्घर्षमा आफूहरू संस्थापन पक्ष रहेकाले पनि सबैलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी वित्तीय शोषणको अन्त्य गर्नका लागि एकजुट हुन अनुरोध गरे ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्ष समिति नेपालका संरक्षक अगस्त अधिकारीले सरकारले आफ्ना आवाजहरूलाई कुल्चने कुचेष्टा गरे गाउँ गाउँबाट वित्तीय शोषकहरूलाई लखेट्ने चेतावनी दिए ।
नेसन फर्स्टका संयोजक डा।नन्द प्रसाद काप्रीले वर्तमान केपी ओली सरकार जनताको पक्षमाभन्दा, दलाल, भ्रष्टहरूको पक्षमा रहेको आरोप लगाउँदै भने,‘बैङ्क,लघुवित्त, सहकारी र मिटर ब्याजी पीडितले आवाज उठाउँदा जेल कोच्दै छ । अब पीडितको आन्दोलनको भेलले ओली सरकार बगाउने दिन टाढा छैन ।’
राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले वित्तीय माफियाहरूसँग लड्न सम्पूर्ण तयारी पूरा गरिएको घोषणा गर्दै सरकारलाई चेतावनी दिए ।
समितिका प्रशिक्षण विभाग प्रमुख मणिप्रसाद चौलागाईले तीन वर्षदेखि लगातार आन्दोलन गर्दा पनि नसुन्ने सरकार जनता भन्दा पनि वित्तीय माफिया, भ्रष्टाचारी र तस्करहरूको संरक्षक भएको आरोप लगाए ।
चौलागाईले त्यसका विरुद्ध जस्तोसुकै लडाईका निम्ति आम जनतालाई तयार हुन अनुरोध गरे । सो कार्यक्रमलाई राष्ट्रिय स्वयंसेवक नेपाल कोशी प्रदेशका संयोजक दिलीप ग्राङ्जा मगरले गरेका थिए ।
प्रतिक्रिया