इटहरी : इटहरी दुर्घटनामा मृत्यु भएका एक दम्पतीलाई सुरूमा टिपरले ठक्कर दिएको र पछि म्याजिकले किचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आज (आइतबार) दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकलमा सवार एक दम्पतीको दुर्घटनामा मृत्यु भएको थियो ।
उक्त मोटरसाइकल पकलीबाट इटहरीतर्फ आउँदै गरेको थियो । इटहरी आउँदै गरेको मोटरसाइकललाई सुरूमा को १ क ३३८८ टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा सवार दम्पती लडेका थिए । सोहीबेला गुडिरहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले किचेको सुनसरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको थियो ।
उनीहरू श्रीमान–श्रीमती रहेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
अहिले इलाका प्रहरी कार्यालय पकलीले टिपर चालक मोरङको सुन्दरहरैँचा ३ गछियाका ३५ वर्षीय सागर मग्राती र म्याजिक भ्यान चालक इटहरी १२ खनारका ३९ वर्षीय श्याम बिकलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
‘टिपरले ठक्कर दिएको र पछाडिबाट गइरहेको म्याजिकले पुनः ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘अहिले इलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानपछि बाँकी तथ्य खुल्छ ।’
प्रतिक्रिया