मोरङ : ग्रामथानको उपनिर्वाचनमा कसले मार्ला बाजी ?

सोमबार, १० मंसिर २०८१
विराटनगर : मोरङको ग्रामथान कोशी प्रदेशकै एउटा मात्रै महानगरपालिका विराटनगरसँग सीमा जोडिएको स्थानीय तह हो । थारू समुदायको बाहुल्यता रहेको ग्रामथानको पश्चिम–दक्षिणतर्फ विराटनगर पर्छ । साथै, पूर्वमा रंगेली र बेलबारी नगरपालिका, पश्चिममा विराटनगरसहित बूढीगंगा गाउँपालिका, उत्तरमा सुन्दरहरैँचा नगरपालिका र दक्षिणमा विराटनगर महानगरसहित कटहरी गाउँपालिकासँग सीमा जोडिएको छ । मोरङको विभिन्न पालिकाहरूको बीचमा रहेको ग्रामथानमा अध्यक्ष चयनका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । यतिबेला ग्रामथानमा चुनावको चटारो छ । विभिन्न साना र ठूला दलबाट १५ एवं स्वतन्त्र एक सहित १६ जना उम्मेदवार मैदानमा छन् । उम्मेदवारहरू पूर्वाधार निर्माणदेखि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलगायतका एजेन्डा बोकेर मतदाता फकाउँदै भोट माग्न व्यस्त छन् । अहिले उम्मेदवारहरू घरदैलो अभियान तीव्र बनाएर मतदाताको मन जित्दै नतिजा आफ्नो पक्षमा पार्न लागिरहेका छन् । समर्थक र शुभचिन्तक पनि आफ्ना उम्मेदवार जिताउन अहोरात्र खटिन्छन् । पार्टीका उम्मेदवार जिताउन विभिन्न दलका केन्द्रीय नेता नै सक्रिय छन् । चुनावको चटारोले व्यस्त रहेको ग्रामथानमा कसको पल्ला भारी छ र कसले बाजी मार्ला ? भनेर चर्चा परिचर्चा उत्तिकै हुन्छ । यद्यपि, यही उम्मेदवारले चुनाव जित्छन् भनेर सहज हिसाबले आकलन गर्न सक्ने अवस्था भने छैन । तर, चुनावी माहोलले छपक्कै छोपेको ग्रामथानका सडक र चोकहरुमा पार्टीका झण्डा, ब्यानरलगायतका प्रचार सामग्री प्रशस्त देख्न सकिन्छ । उम्मेदवारको फोटोसहितको पोष्टर र पर्चा जताततै टाँसिएका छन् । यसरी प्रचार गर्नेमा ठूला दलहरू अगाडि छन् । ग्रामथानमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले एक–एक कार्यकाल नेतृत्व गरिसकेका छन् । २०७४ सालमा एमाले र २०७९ सालमा कांग्रेसका उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । तर, नेपाली कांग्रेसका २०७९ सालमा जयप्रकाश गच्छदार निर्वाचित भएपनि राष्ट्रियसभाको निर्वाचनमा मत हाल्न विराटनगर गएको बेला उनी अचानक बेहोस भएका थिए। उपचारका क्रममा उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । २०७४ मा एमालेका शिवनारायण माझी थारू ४ हजार ७ सय २० मतसहित अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी तत्कालीन फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारूले ४ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए । अघिल्लो चुनावमा ५९ मतान्तरले विजयी भएका शिवनारायणलाई २०७९ मा कांग्रेसबाट उम्मेदवार बनेर जयप्रकाशले पराजित गरे । उनीहरूबीचको मतान्तर एक हजार पाँच सय १२ थियो । जयप्रकाशले ७ हजार ६ सय ५ मत पाउँदा शिवनारायण ६ हजार ९३ मतमा सीमित भएका थिए । यसअघि दुईपटक आलोपालो चुनाव जितेका दललाई यो पटक भने सहज नभएको विश्लेषण गर्न थालिएको छ । कांग्रेस छाडेका नमोनारायण माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षका उम्मेदवार छन् । यद्यपि, नवप्रवेशीलाई टिकट दिएको र पुराना एवं पार्टीभित्र योगदान गरेकालाई पाखा लगाइएको भनेर माओवादीभित्र तीव्र विवाद र असन्तुष्टि छ । नमोनारायणलाई जिताउन पूर्वमन्त्री एवं संघीय सांसद अमनलाल मोदी कमाण्डर बनेर खटिएका छन् । नमोनारायणलाई पार्टी प्रवेश गराउनेदेखि टिकट दिलाउनेसम्मको भूमिका अमनलालले खेलेका थिए । उनलाई सघाउन माओवादीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, सहइन्चार्जहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ राई, राष्ट्रियसभामा माओवादीका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास, पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेता सक्रिय भएर लागेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकबाट ग्रामथान–१ को अध्यक्षमा विजयी भएका थिए । २०७९ मा भने स्वतन्त्र उठेर वडाध्यक्षमा हारेका हुन् । कांग्रेसले बलराम सरदार थारूलाई उम्मेदवार बनाएको छ । उनी पार्टीमा डा. शेखर कोइराला पक्षधर हुन् । पार्टीभित्रको गुटगट विवादले चुनावी नतिजामा असर पर्नसक्ने विश्लेषण पनि छ । बलरामलाई चुनाव जिताउन पूर्वमन्त्रीहरू महेश आचार्य, डा.मीनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेत्री डिला संग्रौला, प्रदेश सांसद अमृत अर्याल, नेता गुरुराज घिमिरे, सांसद भीम पराजुलीलगायत खटिएका छन् । कांग्रेस उम्मेदवार बलराम पूर्वअध्यक्ष जयप्रकाशले अघि सारेका योजनालाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । उनले निर्वाचित भए पालिकाको विद्यालयमा निःशुल्क कापी कलम बाँड्ने योजना रहेको बताए । चुनाव जित्नेमा ढुक्क रहेको बताउँदै उनले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास गर्ने योजना रहेको सुनाए । एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न नसकेको भनेर एमालेभित्र पनि विवाद छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट अध्यक्षको आकांक्षी रहेका नमनारायण चौधरीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मुढा चुनाव चिह्न पाएका उनको उम्मेदवारीले एमालेलाई धक्का लाग्नसक्ने अनुमान पनि छ । यद्यपि, तुलसीरामलाई चुनाव जिताउन एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाललगायतका नेताहरू अहोरात्र खटिएका छन् । एमाले उम्मेदवार तुलसीराम मतदाताको साथ राम्रो भएका कारण चुनाव जित्ने दाबी गर्छन् । उनको बुझाइमा एमालेको प्रतिस्पर्धी कांग्रेस हो । ‘घरदैलोमा मतदाताको ‘फिडब्याक’ राम्रो पाएको छु । ग्रामथानबासीबाट जति ‘रेस्पोन्स’ पाए नि चुनाव हुन बाँकी छ । तर, आजै मलाई विजयी घोषित गर्दा फरक पर्दैन । जनताको समस्या बुझेर उम्मेदवारी दिएको हुँ,’ उनले भने । चुनावमा कांग्रेस, एमाले र माओवादबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । तर, नयाँ दलहरू नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारीले पनि पुराना दललाई चुनौती थपिने विश्लेषण छ । नागरिक उन्मुक्तिबाट बुद्धिचन विश्वास र रास्वपाबाट नवीनकुमार विश्वास उम्मेदवार छन् । यी दुवै दलको जनाधार कमजोर देखिन्छ । तर, ठूला दलका लागि चुनौती भने पक्कै थपिएको विश्लेषण गरिएको छ । ग्रामथानको अध्यक्षमा अन्य दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट दिनेशकुमार थन्दार ९दिवेश०, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी, नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी उम्मेदवार छन् । नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०बाट पर्शुराम विश्वास थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले उम्मेदवारी दिएका छन् । सबै उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । हालसम्मको प्रतिस्पर्धी देखिएका ठूला दलले ग्रामथानको निर्वाचनलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् । ग्रामथानमा ७ वटा वडा छन् । १३ हजार ४१ महिलासहित २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिका–१ मा ३ हजार २ सय ९०, २ मा ४ हजार १ सय ३४, ३ मा २ हजार ९ सय ५३, ४ मा ३ हजार ९ सय ७३, ५ मा ४ हजार ८ सय ३८, ६ मा ३ हजार ७ सय ५५ र ७ मा ३ हजार १ सय १ मतादाता रहेका हुन् । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । अहिले एक सय दुई मतदाता थपिए । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार