विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित मनमोहन विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट चेक चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–६ का २३ वर्षीय टंकप्रसाद यादव र १८ वर्षीय सुमितसागर यादव रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार टंकप्रसाद पूर्व विद्यार्थी हुन् ।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अगाडि बढाइएको जोशीले बताए ।
शिक्षालयमा पढ्नलाई भर्ना हुँदा विद्यार्थीले धरौटी राख्नुपर्छ । धरौटीबापतको रकम फिर्ता लिनलाई भन्दै गत आइतबार टंकप्रसाद साथीसहित शिक्षालयमा पुगेका थिए ।
रकम फिर्ता लिने क्रममा लेखा शाखामा पुगेर टंकप्रसाद र सुमित सागरले चेक चोरी गरेको शिक्षालयका प्राचार्य सुदीप अधिकारीले बताए ।
उनका अनुसार प्रचार्य र लेखा शाखा प्रमुखको हस्ताक्षर भएका एवं लेखा शाखा प्रमुखको मात्रै हस्ताक्षर भएकासमेत गरेर १३ वटा चेक चोरी भएको थियो । अन्य चेक पनि चोरी गरेर लगेको उनले बताए ।
शिक्षालयबाट एभरेष्ट बैंकको चेक चोरी गरेर उनीहरुले रकमसमेत निकालिसकेको पाइएको जानकारी प्रचार्य अधिकारीले दिए । उनका अनुसार २ लाख ६६ हजार ६ सय ९२ रूपैयाँ निकालिसकेपछि चेक चोरी गर्नेहरू पत्ता लागेका हुन् ।
‘चेक चोरी भएपछि खाता बन्द गर्न बैंकलाई खबर गरियो । केही चेकहरू साटेर रकम निकालिसकेका रहेछन्,’ अधिकारीले भने, ‘केही चेक साट्न बाँकी रहेछ । शंकास्पद चेक बोकेर रकम निकाल्न पुगेपछि पछिल्लो समय बैंकले खबर गरेको हो ।’
प्रहरीका अनुसार चोरी भएका १३ वटामध्ये ६ वटा चेकमा प्रचार्य र लेखा शाखा प्रमुखको हस्ताक्षर भइसकेर शिक्षालयको छाप लगाइएको थियो । हस्ताक्षर र छाप भएका चेक टंकप्रसाद र सुमितसागरले सहजै साट्न सकेको डीएसपी जोशीले बताए । उनका अनुसार ७ वटा चेकमा लेखा शाखा प्रमुखको मात्रै हस्ताक्षर थियो । प्रचार्यको हस्ताक्षर थिएन ।
प्राचार्यको हस्ताक्षर नभएका चेकमा अघिल्लो चेकबाट हस्ताक्षर चोरी गरेर बैंकमा साट्न गएको पाइएको जोशीले बताए । शिक्षालयको नक्कली छाप बनाएर चेकमा प्रयोग गरेको पाइएको उनको भनाइ छ ।
‘७ वटामध्ये प्रचार्यको हस्ताक्षर किर्ते गरेर ५ वटा साटिसकेका रहेछन् । २ वटा साट्न जाने क्रममा प्रचार्यको हस्ताक्षर नमिलेपछि बैंकले शंका लागेर शिक्षालयलाई खबर गरेको रहेछ,’ डीएसपी जोशीले भने ।
घटनाबारे विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेकाले अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जोशीले बताए ।
प्रतिक्रिया