ग्रामथान : माओवादीका उम्मेदवारलाई फौजदारी कसुरमा मुद्दा, अघिल्लै निर्वाचनको खर्च विवरण बुझाएनन्

विहीबार, १३ मंसिर २०८१
विराटनगर : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ग्रामथान गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा उम्मेदवारी दिएका नमोनारायण माझीविरुद्ध फौजदारी कसुरमा मुद्दा चलेको पाइएको छ । उनीविरूद्ध प्रहरीले २०८० चैतमा अभद्र व्यवहारको मुद्दा चलाएको हो । यद्यपि, त्यही मुद्दाले उनलाई उम्मेदवार हुनबाट रोक्न सक्दैन । गाउँपालिका कार्यालयका अनुसार ग्रामथान–१ को रामजानकी मन्दिरका लागि नमोनारायणले बजेट माग गरेका थिए । तर, मागको सुनुवाइ नभएको भन्दै २०८० चैत ११ गते दलबलसहित गाउँपालिकाको कार्यालयमा पुगेर उनले हुलहुज्जत गर्दै तोडफोडको प्रयास गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको थियो । कार्यपालिकाको बैठक चलिरहेका बेला नमोनारायणको समूहले बैठक कक्षमा प्रवेश गरी जनप्रतिनिधि र कर्मचारीलाई अपशब्दसहित अश्लील गालीगलौज, हुलहुज्जत एवं तोडफोडको प्रयास गर्नुका साथै धाकधम्की दिएको भनेर गाउँपालिकाले किटानी जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । नमोनारायणसहित ९ जनाविरुद्ध २०८० साल चैत ३० गते जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको हो । प्रशासनका अनुसार मुद्दामा नमोनारायण माझी, विष्णुप्रसाद माझी, राजनारायण भगत, सञ्जितादेवी भगत, तिलकराम माझी, खड्गबहादुर मगर, बिन्दाकुमारी सुतिहार, कल्पना मगर र धीरेन्द्रकुमार भगतलाई प्रतिवादी बनाइएको थियो । प्रशासन कार्यालयले नमोनारायणलाई २५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दियो । अन्यका हकमा २ र ३ हजार धरौटी माग भएको प्रशासनले जनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजलासले २०८१ भदौ १७ गते मुद्दाको किनारा लगाउँदै उनीहरूलाई जरिवाना हुने फैसला सुनाएको थियो । नमोनारायणसहित सञ्जितादेवी, तिलकराम, खड्गबहादुर, बिन्दाकुमारी र कल्पनालाई जनही ३ हजार रूपैयाँ जरिबाना हुने फैसला प्रशासनले सुनाएको हो । विष्णुप्रसाद माझी र राजनारायण भगतलाई २ हजार जरिबाना भयो । धीरेन्द्रकुमारलाई ५ हजार जरिबाना हुने फैसला प्रशासनले गर्यो । तारेख गुजारेका कारण धीरेन्द्रकुमारलाई बढी जरिबाना भएको जिल्ला प्रशासन स्रोतले जानकारी दियो । कानुनका विज्ञहरू फौजदारी कसुरमा जरिवाना हुनु सजाय नै भएको बताउँछन् । गाउँपालिकाविरूद्ध हर्कत गरेर फौजदारी कसुरमा मुद्दा खेपेका उनै नमोनारायण अहिले माओवादीबाट त्यही गाउँपालिका अध्यक्षको उम्मेदवार छन् । यता, नमोनाराण भने आफूले केही नगरिकन त्यत्तिकै मुद्दा चलाइएको बताउँछन् । ‘गाउँको मन्दिरका लागि पैसा माग गरिएको थियो । तर, गाउँपालिकाबाट सुनुवाइ भएन । कार्यवाहक अध्यक्ष गुणावतीदेवी थारुसँगै समय मागेर पैसाका लागि दबाब दिन हामी गाउँपालिका पुग्यौं,’ नमोनारायणले भने, ‘तर, कार्यवाहक अध्यक्षले समय नदिएकाले अलिअलि आक्रोसित भइयो होला । हुलहुज्जत र तोडफोडको प्रयास गरेको छैन । झुटो आरोपमा हामीलाई मुद्दा चलाइयो ।’ उनले मुद्दा चलेपछि आफ्नो ‘हाइट’ बढेको र जनताले झन् मन पराएको बताए । ‘हाम्रो माग नराम्रो थिएन । तर, सुनुवाइ पनि नगर्ने, अनि कार्यवाहक अध्यक्षले समय पनि नदिने भएपछि हामी कार्यपालिका बैठक भइरहेको स्थानमा पुग्यो । त्यहाँ गएर केही बोलेनौं । तर, त्यत्तिकैमा मुद्दा चलाइयो,’ नमोनारायणले भने । भर्खरै माओवादी प्रवेश गरेका नमोनारायणले टिकट पाएपछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । नवप्रवेशीलाई प्राथमिकता दिएको र योगदान पुर्याउने कार्यकर्तालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि चुलिएको हो । नमोनारायणलाई पार्टी प्रवेश गराएर अध्यक्षको टिकट दिलाउन माओवादी नेता, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले भूमिका खेलेका हुन् । अर्कोतर्फ माओवादी उम्मेदवार नमोनारायणले वडाध्यक्षको उम्मेदवार हुँदाको निर्वाचन खर्चको विवरणसमेत नबुझाएको पाइएको छ । दल फेरिरहने आरोप लाग्दै आएका उनी गत भदौ २९ गते नेपाली कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । नमोनारायण २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ग्रामथान–१ मा वडाध्यक्षको उम्मेदवार थिए । स्वतन्त्र उठेर पराजित भएका उनले गाउँपालिका अध्यक्षको उम्मेदवार भइसक्दासमेत खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् । खर्चको विवरण नबुझाएका उम्मेदवारलाई निर्वाचन आयोगले जरिबाना गर्ने निर्णय लिएको थियो । नमोनारायणसहित त्यतिबेला उक्त वडाका वडाध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बनेका ३० जनालाई आयोगले जनही १ लाख ५० हजार रुपैयाँका दरले जरिबाना गर्ने निर्णय गरेको थियो । जरिबानामा पर्नेमा सोही वडाका वडाध्यक्ष सुरेशकुमार माझीलगायत छन् । नमोनारायण २०७४ सालमा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए । पछि नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकीकरण भयो । २०७९ मा कांग्रेसले टिकट नभएपछि नमोनारायणले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यतिबेलाको निर्वाचन खर्च विवरण नबुझाएपछि आयोगले जरिबाना गर्ने निर्णय गरेको हो । तर, आयोगको उक्त निर्णयविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ९बालेन्द्र०ले रिट दायर गरेपछि सर्वोच्च अदालतले आयोगको जरिबाना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि आयोगको उक्त निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन । निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ मा आयोगबाट तोकिएको जरिवाना नबुझाएका उम्मेदवारलाई आयोगले ६ वर्षसम्म निर्वाचनमा भाग लिन रोक लगाउनसक्ने व्यवस्था छ । ग्रामथानको अध्यक्षमा एमालेबाट तुलसीराम विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादीबाट नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट धर्मेन्द्रकुमार चौधरी उम्मेदवार छन् । नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेशकुमार राजवंशी, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहर र स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी अध्यक्षको उम्मेदवार छन् । २०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । कोशी प्रदेशमै पालिका अध्यक्ष पदका लागि ग्रामथानमा मात्रै चुनाव हुँदैछ । सोहीकारण अधिकांश शीर्ष नेतृत्वहरू यहाँ आएर आफ्ना दलका लागि मत मागेका छन् । ग्रामथानमा ७ वटा वडा छन् । जसमा २६ हजार ४४ मतदाता छन् । ग्रामथान गाउँपालिका–१ मा ३ हजार २ सय ९०, २ मा ४ हजार १ सय ३४, ३ मा २ हजार ९ सय ५३, ४ मा ३ हजार ९ सय ७३, ५ मा ४ हजार ८ सय ३८, ६ मा ३ हजार ७ सय ५५ र ७ मा ३ हजार १ सय १ मतादाता रहेका हुन् । २०७९ सालको स्थानीय निर्वाचनमा २५ हजार ९ सय ४२ मतदाता थिए । अहिले १ सय २ मतदाता थपिएका हुन् । उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार