इटहरी : इटहरीको खनारमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । आज (बिहीबार) साँझ ५ बजेतिर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी लक्ष्मी भण्डारीकाअनुसार इटहरी १३ खनारस्थित काली मन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गदै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक स्थानीय अन्दाजी ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा साँझ ६ बजेतिर मृत्यु भएको भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘घाइते भएका तीनजनाको उपचार भइरहेको छ ।’
सोही स्कुटर पछाडि सवार अन्दाजी ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेको छ । घाइते रहेकी बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मृतक गोपाल र बबिता ससुरा–बुहारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीले जानकारी दिए ।
यसैगरी मोटरसाइकल चालक कोसी गाउँपालिका ८ बस्ने अन्दाजी २६ वर्षीय आशिक आलम र पछाडि सवार इटहरी १४ बस्ने अन्दाजी २५ वर्षीया विनिता पाठक घाइते भएका छन् ।
उनीहरूको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ । आशिकको टाउकोमा चोट लागेको छ भने विनिताको अनुहार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेका प्रहरीको भनाइ छ ।
प्रतिक्रिया