मोरङको ग्रामथानमा उपनिर्वाचन : चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौती !

विहीबार, १३ मंसिर २०८१
विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्षका लागि हुन लागेको निर्र्वाचनमा १६ जनाको उम्मेदवारी परेको छ । यसैबीच चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल नै सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखा परेको सुरक्षा विश्लेषण छ । जिल्ला सुरक्षा समिति मोरङले निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिसकेको छ । मतदाता, मतदानस्थल, मतपेटिकाको सुरक्षादेखि मतपेटिकाको ढुवानी, मतगणनास्थल र विजय जुलुससम्मलाई लक्षित गरेर रणनीतिक हिसाबले सुरक्षा योजना बनाइएको हो । सुरक्षा योजनामै राजनीतिक दलका गतिविधि, विरोध प्रदर्शन आदिले सुरक्षा चुनौती थपिएको उल्लेख छ । निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्ने, मतदातादेखि मतदानस्थलमा सुरक्षाको प्रत्याभूति दिलाउने, अनधिकृत प्रवेशमा रोक लगाउनेलगायतका विषय समेटेर सुरक्षा योजना बनाइएको हो । निर्वाचन बहिष्कार गर्ने तथा विरोधी समूहका गतिविधिलगायतलाई पनि सुरक्षा चुनौतीका रूपमा लिइएको छ । तर, अहिले निर्वाचन विरोधी समूह निष्क्रियजस्तै छ । कुनै समूहको नाममा चुनाव बहिष्कार गर्न आह्वान गरिएको भए पनि खुलेर चुनावको विरोध र सार्वजनिक हिसाबले गतिविधि गर्ने जमात देखा परेको छैन । बरू उपनिर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलहरूले नै भड्किलो प्रचारप्रसार गरेका थिए । निर्वाचन आचारसंहिताको उल्लंघन गरेर प्रचारप्रसार गरिए पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेन । उम्मेदवारको फोटोसहितका प्रचार सामग्री जताततै देख्न सकिन्छ । यद्यपि, निर्वाचन आयोगमा आचारसंहिता उल्लंघनको उजुरी परेको छैन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा बुधबार कांग्रेसले झोराहाटमा चुनावी सभा गर्यो । उक्त सभामा सरकारी गाडीको लर्को लागेको थियो । त्यसलाई रोक्न निर्वाचन आयोगदेखि राज्यका निकायसमेत असफल भए । चुनाव प्रचारप्रसारका क्रममा दल र तिनका उम्मेदवारले एकअर्काको खुलेर विरोध गरे । आफ्ना उम्मेदवारलाई राम्रो देखाउने नाममा अर्को दलका उम्मेदवारको तीव्र आलोचना गर्न दलहरू पछि परेनन् । यद्यपि, स्थानीय तहको उपनिर्वाचनका लागि आज (बिहीबार) राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ । मौन अवधिमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन सम्पन्न भएर अन्तिम मतपरिणाम नआएसम्म विभिन्न चुनौती कायमै रहने सुरक्षा विश्लेषण छ । सुरक्षा संयन्त्रले दलहरूकै गतिविधिलाई निर्वाचन सुरक्षाको मुख्य चुनौती मानेको छ । सुरक्षा विश्लेषणबाट पनि निर्वाचनमा प्रत्यक्ष सहभागी भएका दलहरू कुन र कस्ता खालका गतिविधि गर्छन् भन्ने प्रष्ट हुन्छ । चुनाव प्रचारप्रसारका क्रममा दलहरू एक अर्काप्रति आक्रामक भएकाले झडप र भीडन्त हुनसक्ने आकलन पनि सुरक्षा निकायको छ । यद्यपि, त्यस्ता अप्रिय घटना रोक्न मजवुत हिसाबले सुरक्षा योजना बनाएर लागू गरिएको अधिकारीहरू बताउँछन् । एक सुरक्षा अधिकारीले भने,‘चुनावलाई लिएर दलहरूबीच आरोप–प्रत्यारोप चलिरहेको छ । जित्ने होडबाजीले तिक्ततापूर्ण सम्बन्ध छ । त्यसले कुनै समस्या निम्त्याउँछ कि भनेर चनाखो हुनुपर्ने अवस्था छ । अहिलेसम्म कुनै अप्रिय घटना त भएको छैन । भइहाल्यो भने तत्काल नियन्त्रणमा लिने गरिको तयारी छ ।’ मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मतदानका दिन पालिकालाई सुरक्षा घेराभित्र राखिने बताउँछन् । ‘उपनिर्वाचन शान्तिपूर्ण र भयरहित हिसाबले सम्पन्न गर्न सुरक्षा निकाय तयार छ । अनर्गल हर्कतहरू रोक्ने गरिको योजना बनेको छ । कसैले गलत गतिविधि गरेमा तत्काल नियन्त्रणमा लिने रणनीति छ,’ उनले भने, ‘निर्वाचन विरोधी गतिविधि नियन्त्रण गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति दिलाइने छ । चुनावका दिन ग्रामथान छिर्ने मुख्य नाका ‘ब्लक’ गरिन्छ । सहायक मार्गमा सुरक्षा निकायको संयुक्त ‘चेक प्वाइन्ट’ हुने छ ।’ मतदानका दिन ग्रामथानमा मानिस र सवारीसाधनको अनधिकृत प्रवेशमा रोक लगाइने भट्टराईले बताए । उनका अनुसार निर्वाचन विरोधी राजनीतिक दल र समूहका गतिविधि, नेता कार्यकर्ताबीचमा विवाद भएर हुनसक्ने सम्भावित झडप, धाक धम्की, मतदानस्थलमा हुनसक्ने अवरोध लगायतलाई सुरक्षा चुनौती मानिएको छ । ग्रामथानमा उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको छ । संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको प्रजिअ भट्टराईले बताए । विगतका निर्वाचनमा भएका झगडा, विवाद र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ । उनका अनुसार ग्रामथानमा अति संवेदनशील मतदानस्थल भने छैनन् । सुरक्षा संयन्त्रले जुनसुकै चुनौतीलाई पनि सहजै पार लगाउने र मतदाताको सुरक्षाको ग्यारेन्टी गर्ने मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिले बताए । उनका अनुसार आगामी उपनिर्वाचनको सुरक्षाका लागि ग्रामथानमा डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको हो । मतदानस्थलमध्ये संवेदनशीलमा इन्स्पेक्टर तथा सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने एसपी चिमरियाको भनाइ छ । उनका अनुसार मतदानका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ । त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए । उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय सक्रिय भएर लागेको उनको भनाइ छ । २०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भएपछि रिक्त रहेको अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार