‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्छ’

बुधबार, ०३ पुस २०८१
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अघि सर्नुपर्ने बताएका छन् । नेपाल हस्तकला महासङ्घले बुधबार यहाँ आयोजना गरेको ‘नेपाल–चाइना सांस्कृति तथा पर्यटन सम्मेलन’लाई सम्बोधन गर्दै उनले निजी क्षेत्र अघिअघि सरकार पछिपछि भएपछि मात्रै पर्यटन क्षेत्रको विकास हुने उल्लेख गरे । मन्त्री पाण्डेले भने, “चिनियाँले संस्कृतिभित्र पनि अमूर्त पक्षलाई ‘स्टोरी टेलिङ’को माध्यमबाट पर्यटन क्षेत्रको प्रचार  गरिरहेको अनुभव हाम्रा लागि राम्रो सिकाइ हुनेछ । भौतिक संस्कृतिले मात्रै धेरै कुरा नबोल्ने भएकाले मूर्त र अमूर्त संस्कृतिलाई जोड्न ‘स्टोरी टेलिङ’को महत्व हुन्छ ।” उनले पर्यावरणमैत्री पर्यटनमा जोड दिँदै पछिल्लो समय सूचना प्रविधि क्षेत्रको विकासले शिखर चुमेको समयमा डिजिटल टुरिजम विकासतर्फ समेत ध्यान दिनुपर्ने बताए । मन्त्री पाण्डेले नेपाल र चीनबीच प्राचिन समयदेखि नै चित्रकला, काष्ठ कलालगायतका विषयसमेत जोडिएको स्मरण गर्दै नेपाल चाइना शिखर सम्मेलनले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला र पर्यटन एक अर्काको परिपुरक भएको र यी दुई बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे । नेपाली हस्तकला सामग्री ६० भन्दा बढी देशमा निर्यात हुने गरेको र आन्तरिक बजार तथा विदेश निर्यात गरी वार्षिक २४ अर्बको कारोबार हुने गरेको जानकारी गराए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार