सुनसरी । सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्षमा खरखडाइबाट रु दुई लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले आरक्षले गत मङ्सिर २४ गतेदेखि २६ गतेसम्म खरखडाइका लागि अनुमति ९पुर्जी० दिएको थियो ।
तीन दिनका अवधिमा चार हजार चार सय १९ जनाबाट पुर्जीबापत रु दुई लाख २० हजार नौ सय ५० राजस्व सङ्कलन भएको जनाइएको छ ।
प्रतिपुर्जीबापत रु ५० शुल्क लिएको र एउटा पुर्जीमा एक जना खरखडाइका लागि जान पाउने अनुमति दिएको थियो । घर र गाईगोठमा छानो छाउनका लागि आरक्षमा खरखडाइ गर्नका लागि जाने गरेको कोशी–२ का देवराज उराँवले बताए।
उनको परिवार हरेक वर्ष खरखडाइकै पर्खाइमा बस्ने गरेको र खरखडाइ पुर्जी खुला भएपछि परिवारका सबै खर काट्न र भित्र्याउने काममा जुट्ने गरेको छ । आरक्षबाट काटेर ल्याएको खर आफू प्रयोग गरेर बढी भएको बिक्री समेत गर्ने गरेको छ ।
खरखडाइ खुलेका बेला आरक्ष आसपासका बस्तीमा खर बोक्नेको भीड लाग्ने गरेको छ ।
आरक्षको कार्यालयले आसपासका बासिन्दालाई लक्षित गरेर खरखडाइ खोल्दै आएको छ । आरक्षका अनुसार गत वर्ष आठ हजारले खर काट्ने पुर्जी लिएकोमा यस पटक चार हजार चार सय १९ जनाले खरखडाइका लागि पुर्जी लिएका थिए ।
सुरुमा आरक्षमा डेढ महिनासम्म खरखडाई हुँदै आएकोमा विस्तारै घट्दै गएको छ । खरखडाइबाट आरक्षभित्रका विभिन्न घाँसेमैदानको व्यवस्थापनमा सहजता भएको र सरसफाइ भएको बताइएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया