शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए

शुक्रबार, ०५ पुस २०८१
म्याग्दी : जिल्लामा रहेको अन्नपूर्ण हिमाल आरोहण गर्न शिशिर ऋतुमा पनि पर्वतारोही आएका छन् । मङ्सिर–पुसको शिशिर ऋतुलाई हिमाल आरोहण र उच्च हिमाली क्षेत्रको पदयात्राका लागि प्रतिकुल मानिन्छ । वसन्त र शरद ऋतु आरोहण र पदयात्राका लागि उपयुक्त याम हुन् । अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले सेभेन समिटि (ट्रेकिङ)  कम्पनीबाट आएका चार आरोहीहरू शुक्रबार नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेको बताए । “नारच्याङबाट गाडीमा हुमखोला पुगेका स्पेन, इटली र इराकका चार जना पर्वतारोही त्यहाँबाट पैदलयात्रामार्फत आधार शिविरतर्फ गएका जानकारी आएको छ”, उनले भने, “शिशिर ऋतुमा अन्नपूर्ण आरोहणका लागि आरोही आएको यसअघि थाहा पाएका छैन ।” नेपाली सहयोगी र शेर्पासहित आएका पर्वतारोही केहीदिन आधार शिविरमा बस्ने र अन्नपूर्ण आरोहण गरेर फर्कने गुरुङले जानकारी दिए । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्न जाने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको पदमार्गका अभियन्ता गुरुङले बताए । दसैँ, तिहारको समयमा करिब पाँच हजार पर्यटकले आधार शिविर क्षेत्रको भ्रमण गरेका उल्लेख गर्दै उनले चिसो बढेसँगै आधार शिविर र पदमार्गका खोला, तालमा हिउँ जम्न थालेपछि पर्यटकको आगमन घट्ने जानकारी दिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार