सङ्खुवासभामा ३४ करोडबढीको सुन्तला कारोबार

विहीबार, ११ पुस २०८१
सङ्खुवासभा । जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुगाएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष रु १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म रु ३४ करोडबढीको कारोबार भइसकेको ज्ञानकेन्द्रले जनाएको छ । यो वर्ष जिल्लामा तीन हजार चार सय ८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै एक सय १५ मेट्रिकटन किवी उत्पादन भएको छ । परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको छ । जिल्लाभरि एक हजार एक सय ४८ हेक्टर खेतीयोग्य जमिनमध्ये छ सय २० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ । उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो रु एक सयमा बिक्री भइरहेको छ । सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्दछ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार