इटहरी : शुक्रबार राति अबेरसम्म (७ घण्टा) चलेको इटहरी उपमहानगरपालिकाको कार्यपाललिका बैठकको अन्त्यतिर मेयर हेमकर्ण पौडेलले जनता पार्कलाई क्रिकेट रंगाशाला बनाउनेगरी हस्ताक्षर गर्न आग्रह गरे ।
बैठकमा कार्यपालिका सदस्यहरूले रंगशालाको जनता पार्क विवादित ठाँउ भएकाले उपयुक्त स्थान खोजेर प्रक्रिया अगाडि बढाउन समिति गठन गर्नुपर्ने आवाज उठ्यो । केहिछिन सवालजवाफ भयो । तर, विषय टुंगिएन ।
मेयर पौडेलले भने, ‘जनता पार्कको मैदानमा अहिले पनि युवाहरू क्रिकेट खेलिरहेका हुन्छन् । त्यहाँको मौसम अनुकुल पनि छ । यस्तो विषयमा समिति आवश्यक छैन । त्यहाँ हो भने अहिले साइन ठोकिदिन्छु ।’
बैठकमा मेयर पौडेलले उपमयेर संगीता चौधरीको आग्रहमा श्री शान्ति सिर्जना माविको विषयलाई पनि निर्णय गर्न चाहेनन् । मेयर पौडेलले सो विषय शिक्षा समितिबाटै अनुमोदन हुने बताए ।
उपमेयर चौधरीको आग्रह मेयरका सामु ‘फेल खाएपछि’ उपमेयरले भनिन्, ‘हुँदैन भने म नोट अफ डिसेन्ट लेख्छु ।’ त्यसमा पनि मेयर पौडेलको जवाफ थियो, ‘लेख्नुस् त्यो तपाईको अधिकारको कुरा हो ।’
शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापकले ८० लाख अपचलन गरेको विषय थियो ।
प्रधानाध्यापक कमल तिम्सिनाले ८० लाख अपचलन गरेको र उनीमाथि त्यसै दिन गरिएको कारबाहीको विषयलाई कार्यपालिकाले नै अनुमोदन गर्नुपर्ने उपमेयरको माग थियो । तर मेयरले सो विषयलाई बेवास्ता गरेर बैठक नै समापन भएको घोषणा गरिदिए ।
बैठकको सुरुवातमै १४२ औँ कार्यपालिका बैठक समापन नभई १४३ औँ बैठक सुरु भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
कार्यपालिका सदस्यको मागमा मेयर पौडेलले जवाफ फर्काइहाले ‘साथीहरू यो सुरू गरौं त्यसलाई पछि हेरौंला न ।’
गत असोज ११ गते एक सातापछि बैठक बस्ने भन्दै कार्यपालिका बैठक स्थगित भएको थियो । तीन महिनापछि बसेको बैठकमा उपभोक्ताले भक्तानी नपाएको विषयमा पनि मेयरले कुरै सुन्न मानिरहेका थिएनन् । त्यतिकैमा उनले जोडिदिए ‘२० गतेसम्म भुक्तानी हुन्छ, त्यसपछि नयाँ काम हुन्छ ।’
केही दिन अघिमात्रै थाइल्याण्डको भ्रमण सकाएर फर्किएका इटहरी वडा नं. ६ का वडा अध्यक्ष दिवस पोखरेल हाकाहाकी भन्ने गर्दछन्,‘यहाँ कामै छैन के गरेर बस्ने हो ? पैसै छैन काम नगर्नु भन्ने कुरा आउँछ । म त अब अर्को देशको भ्रमणको पो तयारी गर्दैछु ।’
हरेक ठाँउमा इटहरीका जनप्रतिनिधिहरू ‘पेलान’मै पर्नुभएको हो त ? भन्ने प्रदेश खबरको जिज्ञासामा वडा नं. १ का वडाध्यक्ष रतन कार्कीले भने, ‘त्यसो होइन । सबै कुरा एकै पटकमा सहमति हुन सक्ने अवस्था हुँदैन । हरेक विषयमा छलफल हुन्छ नै । आफ्ना कुराहरूबाटै अन्तिममा सहमतिको बिन्दु पहिल्याउने हो नि ।’
इटहरी वडा ५ का गोपाल गिरी आम जनताको मुख्य भरोसा भनेको स्थानीय तह र त्यसमा पनि वडा रहेको उनी बताउने गर्छन् । निर्वाचन जितेको अढाई वर्ष बितिसक्दासमेत वडाले सङ्कुचित बजेटमा काम गरेको उनको भनाइ छ ।
उनले भने, ‘वडाको बजेट कति न हुन्छ, त्यो सबै थाहा भएकै कुरा छ । त्यसमा पनि हामीले पाउनुपर्ने चाहीँ कति पास भएर आउँछ र ?’
खासगरी इटहरीको कार्यपालिकादेखि नगर सभामा समेत नेकपा एमालेको बहुमत रहेको छ । एमालेका जनप्रतिनिधिहरू बहुमत सदस्यको आवाज नसुनी मेयरले एकलौटी गर्ने गरेको आरोप लगाउने गरेका छन् ।
एमालेबाट वडा अध्यक्ष जितेको वडा नं. ९ का जीतेन्द्र थापाको प्रश्न छ, ‘यो प्राइभेट कम्पनी हो र ? उपमहानगर कसरी चल्दैछ ? यो कस्तो कस्तो मनोपोली हो ?’
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया