काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ।
आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सोमबार दुवै नेताबीच भेटवार्ता भएको हो।
भेटवार्तामा पार्टी एकताका लागि वैचारिक दृष्टिकोण, एकतापछि नेताहरुको जिम्मेवारी व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको थियो।
बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि दुवै नेताहरुले गरेका प्रयास, कार्यदिशा तयार गर्नेलगायत विषयमा छलफल भएको पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
जनताको बहुदलीय जनवाद पार्टीको मार्ग दर्शन तथा सैद्धान्तिक दृष्टिकोण हुनुपर्ने मुल विषयलाई एकता राष्ट्रिय अभियानले प्रस्ताव गरेको छ।
एकीकृत समाजवादीले अगाडि सारेको २१औँ शताब्दीको समाजवादी कार्यक्रममा केही बुँदा थपघट गरी जनताको बहुदलीय जनवादलाई समेट्न सकिने तथा एकता प्रकृयालाई दीर्घकालीन बनाउन दुवै नेताबीच छलफल भएको उपप्रमुख अर्यालले जानकारी दिए।
समान राजनीतिक दृष्टिकोण राख्ने दल तथा वैचारिकरुपमा निकट रहेका समूहहरुलाई एकीकृत गरी कम्युनिष्ट आदर्श तथा कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउने कार्ययोजना एकीकृत समाजवादीले हालै सम्पन्न महाधिवेशनबाट पारित गरेको थियो।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया