इटहरी : इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
इटहरी ६ स्थित उपमहानगरपालिका गेट अगाडि प्लाष्टिकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार बमजस्तो देखिने वस्तु फेला परेपछि अहिले नेपाली सेनाले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।
बमजस्तो देखिने वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय इटहरीमा सूचना आएको थियो । त्यसपछि प्रहरीले उक्त क्षेत्रलाई सावधानी अपनाएको एसपी तिम्सिनाले जानकारी दिए । ‘बमजस्तो देखिने वस्तु फेला परेपछि प्रहरीमा खबर आएको थियो,’ एसपी तिम्सिना भन्छन्, ‘अहिले नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।’
अहिले पूर्वतर्फ जाने सवारी साधनमा रोक लगाइएको छ भने पश्चिमतर्फ आउने सवारी साधन बूढीखोला नजिकैबाट हटिया लाइन हुँदै सवारी आवतजावत गरिरहेका छन् ।
घटनास्थलमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीकाअनुसार सुनसरीको तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।
इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो ।
कालो झोलामा राखिएको शंकास्पद वस्तुलाई निष्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा खटिएको छ ।
प्रतिक्रिया