इटहरी : इटहरी उपमहानगरपालिकाले यहाँका विभिन्न स्थानहरूमा स्थापना गरेको खुल्ला व्यायामशालामा नगरवासीको आकर्षण बढेको छ ।
पालिकाले विभिन्न वडामा खुल्ला व्यायामशालाहरू राखेपछि शारीरिक तन्दुरुस्त कायम राख्न बालबालिकादेखि वृद्धवृद्धासम्मको यसमै रमाइरहेका देखिन्छन् ।
मेयर हेमकर्ण पौडेल लगायत इटहरीका जनप्रतिनिधिहरुको इच्छाअनुसार उपमहानगरपालिकाले ७१ लाख १९ हजारको लगानीमा खुल्ला व्यायामशाला सञ्चालनमा ल्याएको हो ।
पौडेलले सबै उमेर समूहलाई लक्षित गरेर व्यायामशाला सञ्चालनमा ल्याएको बताए ।
खुल्ला व्यायामशाला निर्माण गरेपछि स्थानीय युवा, तथा व्यायामप्रेमीहरूको आकर्षण बढेको उनको भनाई छ । व्यायामशाला स्थापना गरेको क्षेत्रमा घुमफिरसँगै कसरत गर्ने र व्यायाम गर्नेहरूको चाप बढ्दै गएको छ ।
पछिल्लो समय प्रायः सबै जना योगप्रति आकर्षित भइरहेको बेला घर नजिक स्थापना भएका यस्ता खुल्ला व्यायामशालामा गृहिणीहरूको समेत बाक्लो उपस्थिति देखिन थालेको छ ।
खुला व्यायामशाला तौल घटाउने, शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्नेहरूका लागि उपयुक्त बनेको मेयर पौडेलको दाबी छ ।
टोल विकास र वडाको माग बमोजिम व्यायाम उपकरण वितरण गरिएको मेयर पौडेलले बताए ।
इटहरी ५ का कृष्ण माझीले खुला व्यायामशाला शारीरिक मात्र नभई मानसिक तनाव कम गर्न पनि उपयोगी रहेको बताए ।
‘म सधैँ यहाँ व्यायाम गर्न आउँछु, व्यायाम गर्न आउँदा मेरो छिमेकीहरू पनि आउनु हुन्छ । गफ हुन्छ, रमाइला कुराहरू हुन्छन्,’ उनले भने ।
इटहरी ५ नेप्से चोकमा खुल्ला व्यायामशालाको स्थापना भएपछि आफू दैनिक रूपमा व्यायाम गर्न आउने गरेको माझीले बताए ।
घर नजिकमा खुल्ला व्यायामशाला भएपछि चुलो चौकोमा व्यस्त हुने गृहिणीसमेत समय निकालेर व्यायाम गर्न जान थालेका छन् ।
आफू दैनिक रूपमा बेलुकाको समयमा व्यायाम गर्ने गरेको इटहरी ५ की हरिमाया मगर बताउँछिन् । ‘मोटोपन घटाउन एक्ससाइज गर्न आएको हुँ । दिन बिराउँदै म यहाँ नातिनीसँग आउँछु,’ मुस्कुराउदै उनले भनिन् ।
खुल्ला व्यायामशाला निर्माणपछि मोबाइलमा रमाउने बच्चाहरू पनि अहिले अभिभावकसँगै व्यायामशालामा आउन थालेको उनको भनाइ छ ।
अधिकांश युवाहरुको बिहान र साँझको दैनिकी व्यायामशाला आउने र कसरत गर्नेमै बित्ने गरेको स्थानीयवासीहरूको भनाइ छ ।
उपमहानगरपालिकाले खुल्ला व्यायामशाला स्थापना गरेपछि आफूले जिम जान छाडेको युवा दिनेश लिम्बूले बताए ।
‘म महिनाको एक हजार पाचँ सय रुपैयाँ तिरेर जिम जाने गर्थेँ । तर, यहाँ जिमको सामानहरू राखेपछि मैले पुस देखि जान छाडे । एक्ससाइज कसरी गर्ने भनेर थाहा छदैँछ । म त दिनको एक घण्टा यही खुल्ला व्यायामशालामा बिताउँछु,’ लिम्बूले भने ।
व्यायामशालामा बालकदेखि वृद्धसम्मका विभिन्न उमेर समूहका मानिस आफू अनुकूल समय मिलाएर शारीरिक अभ्यास गर्न आउने गर्छन् ।
अहिले सहर बजारमा शारीरिक कामहरू कम हुने भएकाले शारीरिक स्फूर्तिका लागि जिम हल जाने, मर्निङ वाक जाने लगायतका काम भइरहन्छन् । तर खर्च गरेर जिम हल जानेहरू पनि खुल्ला व्यायामशालातर्फ आकर्षित भएको वडा नं. १२ का वडा सदस्य संजय कुमार मिश्रले बताए ।
उनले भने, ‘ज्येष्ठ नागरिकहरू व्यायाम भन्दा पनि बढी मर्निङ वाक गर्न रुचाउँछन् । तर उनीहरूलाई हल्का फुल्का शारीरिक अभ्यासका लागि खुल्ला व्यायामशाला निकै प्रभावकारी भएको छ । मर्निङ वाक गरेर एकछिन् ब्यायाम गरेर उहाँहरु घर जानुहुन्छ ।’
पछिल्लो समय आयुर्वेद औषधी, योग, ध्यान तथा व्यायामशालाप्रति आकर्षण बढ्दो रहेको उनले बताए । खुल्ला व्यायामशाला आम नागरिकको पहुँचमा पुगेसँगै स्वास्थ्यप्रति नागरिक सचेतना वृद्धि हुने उनको जिकिर छ ।
हालसम्म इटहरीका ९ वटा वडाको १० ठाउँमा व्यायामशाला राखिएको इटहरी उपमहानगरपालिकाका मेकानिकल इञ्जिनियर रुपेश आचार्यले बताए ।
वडा नं. १, २, ५, ८, १२, १४, १५, १८, १९ का विभिन्न ठाउँमा निर्माण गरिएको छ ।
जस अन्तरगत वडा नं १ को कञ्चन चोक, वडा २ को शान्तिनगर सामुदायिक वन नजिक, वडा ५ को ज्योति मावि नजिक , इटहरी ८ को फूलबारी टोल, वडा १२ को वडा कार्यालय भन्दा पूर्व पट्टी नहरसँगै रहेको जग्गामा व्यायामशाला राखिएको छ ।
यसैगरी वडा १४ को गैसारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नं १५ को एकम्बा विद्यालयको प्राङ्गणमा, वडा नं १८ को इकाहा मन्दिर पूर्वपट्टी र वडा १९ को जब्दी स्कुल छेउमा र तामाङ टोलको खेलमैदान नजिकमा खुल्ला व्यायामशाला स्थापना भएको इन्जिनियर आचार्यले बताए ।
यसैगरी वडा नं ९ मा समेत व्यायामशाला राख्ने काम अगाडि बढाएको उनले बताए । खुल्ला व्यायामशालाहरूमा हात, खुट्टा, कम्मर, घाँटी, ढाड, पेट लगायत शरीरका विभिन्न अङ्गहरूको व्यायाम हुने अचार्यको भनाइ छ ।
उनका अनुसार ‘पुस अप बार,’ ‘सिङ्गल स्काईवाकर,’ ‘डबल एयर वाल्कर,’ ‘डबल सिट अप बोर्ड,’ ‘हर्ष राइडर’ लगायत १६ प्रकारका उपकरण रहेको उनले जानकारी दिए ।
‘एक सेटमा १६ वटा उपकरण छन् । व्यायामशाला स्थापना गरेको ठाउँमा एक सेट उपकरण राखिएको छ,’ इञ्जिनियर आचार्यले भने ।
इन्टर ट्रेड नेपाल विराटनगसँग ७१ लाख १९ हजार रुपैयाँमा व्यायाम उपकरण ल्याउने सम्झौता भएको उनले बताए । व्यायाम उपकरण बिग्रिएमा दुई वर्षको ‘वारेन्टी’ रहेको उनको भनाइ छ ।
इटहरी उपमहानगरले गत वर्षदेखि नै व्यायामशाला निर्माण कार्य सुरू गरेको हो । बाँकी रहेका वडाहरूमा आवश्यकता र माग बमोजिम व्यायाम पार्क निर्माण गर्ने उपमहानगरले जनाएको छ ।
प्रतिक्रिया