पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगिरहँदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरामा आयोजित आफ्नो पार्टीकै विभिन्न कार्यक्रममा सहभागी छन् ।
शनिबार बिहान हवाई उडानमार्फत पोखरा आएका महामन्त्री थापा शनिबार पार्टीको भ्रातृ संस्था नेपाल मुस्लिम संघको भेला र नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट आयोजित विजयी जनाप्रतिनितिधिहरूसँगको अन्तर्क्रिया कार्यक्रममा सहभागी भए ।
उनी आज पनि नेपाली कांग्रेस कास्कीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
कांग्रेसका महामन्त्री थापा आफ्नो पार्टीको कार्यक्रममा सहभागी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू सशंकित देखिएका छन् । उनीहरू महामन्त्री थापा कास्की जिल्ला अदालतमा चलिरहेको सूर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाको बहसमा प्रभाव पार्न आएको भन्दै सशंकित बनेका छन् ।
उनीहरूले नेपाली कांग्रेसका महामन्त्री थापा बसेको पोखराको लेकसाइडस्थित बरपीपल होटल वरपर आफ्नो पार्टीका कार्यकर्ताहरूले निगरानीमा राखेको सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
उनीहरूले नेपाली कांग्रेसका महामन्त्री थापाले कसलाई भेट गरेका छन् भन्ने बारेमा आफ्ना पार्टीका कार्यकर्ताहरूले निगरानी गरिरहेको बताउँदै मुद्दासँग सम्बन्धित पक्षको महामन्त्री थापासँग भेट भएमा फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी पनि दिएका छन् । उनीहरूले न्यायसँग सम्बन्धित पक्ष पनि महामन्त्री थापालाई भेट्न आउने पो हुन् कि भनेर आशंका गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले दुई दिनअघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पोखरा आएर बरपीपल होटलमै बसेको जानकारी दिएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेकको टुंगो लाग्ने लाग्दा पोखरामा ब्यापक चहलपहल हुन थालेको छ । उक्त मुद्दाको थुनछेक बहसमा भाग लिन कानून व्यवसायीहरू पोखरा आएका छन् ।
यसैक्रममा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेको पक्षमा आज कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ ।
प्रतिक्रिया