स्वर्णलक्ष्मी सहकारी ठगी : रविको बयान – वित्तीय जिम्मेवारीमा थिइनँ, चेकहरूको हस्ताक्षरकर्ता थिएँ

आइतबार, २१ पुस २०८१
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले आफू गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक तथा सञ्चालक समितिको सदस्य हुँदा कुनै वित्तीय जिम्मेवारीमा नभएको बयान दिएका छन् । स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा थुनामा रहेका लामिछानेले बयानमा उक्त दाबी गरेका हुन् । लामिछानेले बयानमा भनेका छन्, “नयाँ कम्पनी भएको र लगानीकर्ताको व्यापार व्यवसाय सात वटा देशमा भएको कारणले उनको व्यस्तताका कारण टेलिभिजन खोल्न ढिला नहोस् भन्ने उद्देश्यले म गोरखा मिडिया नेटवर्कका खाताअन्तर्गतका चेकहरूको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवारीमा कहिले पनि थिइनँ ।” आफूले गोरखा मिडियामा एक पैसा पनि लगानी नगरेको उनको दाबी छ । कुनै पनि कारणले भुक्तानी गर्नुपर्ने चेकमा हस्ताक्षर गर्ने आधिकारिक मानिसकै अभावमा रोकिन्थ्यो भने त्यति छिटो उक्त कम्पनी खडा भई प्रसारणमा जान नसक्ने तर्क उनले गरेका छन् । लगानीकर्ता गितेन्द्रबाबु राई (जीबी)स्वयम्ले आफ्नो पूर्ण नियन्त्रण र निगरानीमा राखी आफ्नो विश्वास पात्रबाट एकिन गरेपश्चात मात्र गोरखा मिडियाको चेकहरू जारी हुने गरेको लामिछानेले जनाएका छन् । बयानमा लामिछानेले भनेका छन्, “भुक्तानी दिने रकमको विवरण यसका लगानीकर्ता गितेन्द्रबाबु राई संसारको जुन कुनामा भए पनि जीबी ग्रुप अफ कम्पनिजका कर्मचारी एवम् गितेन्द्रबाबु राईको विश्वास पात्र र विना रिमालको समन्वयन र अनुमतिबिना सम्भव थिएन ।” यसैबीच लामिछानेविरूद्ध पाँच करोड आठ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा उनी संलग्न रहेको प्रहरी निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरूद्ध बिगो दाबीसहित मुद्दा दायर गरेको हो । यसैगरी छविलाल जोशीविरुद्ध पाँच करोड ७८ लाख ९६ हजार ४८० बिगो माग दाबी गरिएको छ । अदालतमा दायर भएको मुद्दाअनुसार सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल एकअर्ब १९ करोड ४९ लाख २१ हजार २९० बिगो दाबी गरिएको छ । यो पनि – स्वर्णलक्ष्मी सहकारी ठगीमा रवि लामिछानेसँग पाँच करोड आठ लाख माग दाबी (सूचीसहित)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार