झापा : झापामा दुर्घटनाबाट घाइते भएर मृत्यु भएका एक व्यक्तिलाई चिकित्सकले निमोनियाबाट मृत्यु भएको पोस्टमार्टम रिपोर्ट दिएपछि तनाव उत्पन्न भएको छ ।
झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालका मेडिकल अफिसर डा. केवल कपुरीले मृतकको पोस्टमार्टम गरेका थिए ।
बिर्तामोड नगरपालिका–८ स्थित सुकुम्वासी टोल जाने भित्री सडक खण्डमा बा ७५ प ९११५ नम्बरको मोटरसाइकलको ठक्कर शनिबार साँझ साढे ६ बजेतिर सोही ठाउँका ५३ वर्षीय चित्रहाङ श्रेष्ठ घाइते भएका थिए ।
दुर्घटनापश्चात् दुवै पक्षको सहमतिमा सामान्य उपचारपछि घाइते श्रेष्ठ घर फर्किएका थिए ।
शनिबार बिहान आफ्नै घरको कोठामा सुतिरहेको अवस्था उनी मृत फेला परेपछि प्रहरीको समन्वयमा परिवारले उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए ।
तर, डा. कपुरीले गरेको पोस्टमार्टममा उनको मृत्यु दुर्घटनाबाट नभई निमोनियाबाट भएको रिपोर्ट दिएपछि आफन्त तथा परिवारजन आक्रोशित भएका छन् ।
अस्पतालले दिएको रिपोर्ट गलत भएको भन्दै आक्रोशित बनेका उनीहरूले आइतबार (आज) बेलुका अस्पतालको लापरबाही भएको भन्दै विरोध जनाएका छन् ।
दुर्घटनामा घाइते भएर मृत्यु भएका व्यक्तिलाई निमोनियाबाट मृत्यु भन्नु डा. कपुरीको चरम लापरबाही भएको भन्दै पीडित परिवार आक्रोशित बनेपछि तनाव उत्पन्न भएको हो ।
बिर्तामोड नगरपालिका ८ नं. का वडाध्यक्ष अजय कार्कीका अनुसार मृतकको शव अस्पतालको जिम्मामा रहेको छ ।
पोस्टमार्टम गर्ने डाक्टरले पूर्ण रूपमा जाँच नगरी त्यस्तो रिपोर्ट दिएको हुनसक्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले बताए।
विवाद उत्पन्न भएपछि पुनः शवको पोस्टमार्टम गर्न मेडिकल अफिसर डा. मनोज साहलाई पठाएको उनले बताए ।
दुर्घटना गराउने मोटरसाइकल र चालक बिर्तामोड–८ बस्ने २५ वर्षीय बुद्ध बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया