धरान । धरानका विभिन्न अटो वर्कसपमा काम गर्ने मजदुरहरूले अटो ल्यान्डको माग गरेका छन् ।
धरानमा निश्चित स्थान छुट्टाउँदै एकै स्थानमा सबै खालका सवारीसाधनहरूको मर्मत तथा अटो मेकानिक्स् सम्बन्धी सबै सेवा प्रवाहका लागि अटो ल्यान्ड निर्माणका लागि मजदुरहरूले माग गरेका हुन् ।
सोमबार नेपाल अटो मेकानिक्स् ट्रेड युनियन धरान नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण तथा सङ्गठन सुदृढीकरण कार्यक्रममा सहभागी धरानका विभिन्न अटो वर्कसपमा काम गर्ने मजदुर तथा स्वरोजगारहरूले अटो ल्यान्डका साथै धरानका सबै अटो वर्कशपहरुमा काम गरेको सेवाको दररेट कायम गरिने समेत निर्णय गरेको छ ।
भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, नेपाल अटो मेकानिक्स् टे«ड युनियनका पुराना नेता रङलाल गिरी, क्युपेक नेपालका केन्द्रीय उपमहासचिव मुक्तिनाथ गिरी लगायतका नेताहरूको उपस्थिति थियो ।
भेलामा धरानमा रहेका अटो क्षेत्रहरू इन्जिन मर्मत, डेन्टिङ पेन्टिङ, लेथ वर्कसप, डाइनामा वाइरिङ, टायर मर्मत तथा रिसोल, सिटहुड, मोटरसाइकल, पार्टस्, फ्युल पम्प, रेडिएटर मर्मत, ब्याट्री मर्मत, टेम्पो मेकानिक्स र ग्रिल क्षेत्रमा काम गर्ने मजदुरहरुको सहभागीता थियो ।
भेलाले धरानको अटो क्षेत्रका समग्र समस्याहरूको पहिचान गरी धरान उपमहानगरपालिका सहित सरोकारवाला निकायमा सुझावहरू पेस गर्ने समेत निर्णय गरेको छ ।
जिवय श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य सुनिल तोलाङ्गेले कार्यक्रमको औचित्यबारे प्रस्ट पारेका थिए ।
प्रतिक्रिया