कोशी प्रदेशमा कांग्रेस नेतालाई गाडी सुविधा दिनेबारे अदालतले जारी गर्यो कारण देखाउ आदेश

सोमबार, २२ पुस २०८१
विराटनगर : कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने निर्णयबारे उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ । कोशी प्रदेश सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । कोशी प्रदेश मन्त्रिपरिषद्को गत असोज १३ गते बसेको बैठकले कांग्रेस प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्रीसमेत रहेका थापालाई एउटा हलुका सवारी साधन, एकजना सवारी चालक र मासिक एक सय २५ लिटर इन्धन उपलब्ध गराउने निर्णय गरेको थियो । साथै, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई मासिक एक सय २५ लिटर इन्धन सुविधा थप गर्ने निर्णय बैठकबाट भएको थियो । उक्त निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा आइतबार रिट दायर भएको हो । अधिवक्ताहरू कर्णबहादुर राई (दर्शनकर्ण राई) र प्रेमकुमार घिमिरेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाली कांग्रेस संसदीय दलका नेता थापाससहितलाई विपक्षी बनाएर रिट दर्ता गराएपछि सोमबार कारण देखाउ आदेश जारी गरेको हो । अदालतले रिटमा अन्तरिम आदेशको छलफलका लागि पुस २९ गतेलाई पेशी पेशी तोकेको छ । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राजेन्द्रप्रसाद भट्टराई, हेमराज पन्त, भोजराज श्रेष्ठ, उद्धवचन्द्र घिमिरे, अधिवक्ताहरू पुरुषोत्तम नेपाल, योगेन्द्र काफ्ले, कर्णबहादुर राई, प्रेमकुमार घिमिरे, मीनबहादुर पौडेल, विनोद अधिकारी, बलेन्द्र मेहता, लक्ष्मणप्रसाद गौतम, भरत चौलागाईँ अर्णव शर्मा प्रसाईँ, तुलसी साहलगायतले बहस गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार